गृहपृष्ठ आज इन्द्रजात्रा
आज इन्द्रजात्रा
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधना गरी आज काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा लगायतका स्थानमा इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा मनाउने चलन छ ।
भाद्र शुक्ल द्वादशीमा हनुमानढोकामा धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा आठ दिनसम्म मनाउने प्रचलन छ । जात्रामा नाचगान, रथयात्रा र देवीदेवताको पूजा समावेश हुन्छ । द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ समेत भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रुको हारपछि उत्सवको पर्वका रुपमा इन्द्रजात्रा मनाउन थालिएको बताइन्छ । इन्द्रजात्रालाई, इन्द्रध्वजको पूजा गरे शक्ति प्राप्त हुने र सो प्रदर्शन गर्ने पर्वका रुपमा समेत लिने गरिन्छ ।
काभ्रेको नालास्थित जंगलमा छाडिएको बोकाले छोएको रुख भाद्र शुक्ल द्वितीयाका दिन काटि लिंगो बनाई काठमाडौं भित्र्याउने साइत हेरिन्छ । उपयुक्त साइतमा उपत्यका भित्र्याएपछि एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो बनाइन्छ ।
मुख्यरूपमा आज मनाइने इन्द्रजात्रामा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण भइसकेकाले सोही स्थानमा इन्द्रजात्रा गर्ने कार्यक्रम तय भएको छ ।
जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार र देवराज इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने प्रचलन छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि, आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन गरेको छ ।
तस्बिर ः सुनिल प्रधान
प्रकाशित समय ०७:३५ बजे


















