गृहपृष्ठ ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली
ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली
सांकेतिक तस्बिर
सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रका यात्रु मर्कामा परेका छन् ।
पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । सर्वसाधारण भन्छन्, ‘गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ, चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।’
दशैँका बेला सडकमा सवारी साधन र यात्रुको चाप छ । यस्तो मौकामा यातायात व्यवसायीले मनपरी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् । पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ ।
अग्ला भीरमा रहेका, नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्यांकअनुसार रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिमी साढे आठ र बसले साढे सात रुपैयाँ तोकिएको छ ।
ट्राफिक प्रहरीले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ । यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर बढी भाडा असुली र क्षमताभन्दा धेरै यात्रु राखे–नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कारबाही गर्ने ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । (रासस)
प्रकाशित समय १३:२४ बजे

















