गृहपृष्ठ अचेल आउँदैन दसैं

अचेल आउँदैन दसैं

Dashain ko Ping NewsKarobar (4)

२०५४/५५ सालताकाको कुरा । दसैं आउन एक–डेढ महिना बाँकी छँदै लिंगेपिङको चर्चा सुरु हुन्थ्यो । गुरागाईं कान्छा दाइ लिंगेपिङका लागि लठारो बनाउने बाबियो काट्न जाने तारतम्य मिलाउँथे । के बालबालिका, के युवा अनि के पाका– सबैको चासो लिंगेपिङमा हुन्थ्यो ।

दस–बाह्र जनाको टोली बाबियो काट्न झन्डी चुलीतिर लाग्थ्यो । दिनभर लगाएर बाबियो काट्यो, ल्याएर सुकायो, लठारो बाट्यो । बाबियोसँगै झन्डी चुलीबाट गाउँमा दसैं भित्रिन्थ्यो । हामी साना भए पनि बाबियो काट्न जान सुरिन्थ्यौं । तर, हाम्रो टार्गेट बाबियो हुँदैनथ्यो, कलिला अमला, बाँदरझुल्ला, मधु अनि अरु–अरु जंगली फल हुन्थ्यो ।

सात-आठ दिन लगाएर बाबियो सुकाएपछि लठारो बाट्ने र बाँस काट्ने चटारो सुरु हुन्थ्यो । लठारो बाट्न कम्तीमा पाँच जना चाहिने । लठारो बनाउन गुरागाईं कान्छा दाइ निकै अनुभवी । उनी बीचमा मियो बनेर बस्थे र लठारो बाट्थे । उनलाई उप्रेती काका (उप्रेती काका अचेल सम्झनामा मात्र) र अचार्ज मामाले पालो दिन्थे बेला–बेला । वरिपरि तीनजना पोया लाउँथे । हामी भुरा पोयामा थप्न बाबियो छुट्याएर दिन्थ्यौं । तीन–चार घण्टामा बाबियोको लठारो तयार हुन्थ्यो । कम्ता दंग पर्दैनथ्यौं ।

पन्ध्र दिनअगाडि नै दसैंले छोपिसक्थ्यो । हामी भुरालाई पिङ लाउन हतारो पथ्र्यो, बूढाहरु भने घटस्थापना कुराउँथे । रिस उठे पनि बोल्न सकिन्नथ्यो । मुर्मुरिँदै बस्दै गथ्र्यौं । बल्ल घटस्थापना आउँथ्यो । अनि ६ वटा बाँस टोलको बीच पारेर गाड्ने सुरसार हुन्थ्यो । एक महिनादेखि संगालेर राखेको पिङ खेल्ने रहर पूरा हुन लाग्दा खुसीले हाम्रा खुट्टा भुइँमा हुँदैनथे ।

बाँस गाडिसकेपछि दाइहरु लिंगा जोड्न चढ्नुहुन्थ्यो । हामी रमाइलो मान्दै तलबाट जोडेको हेथ्र्यौं । लठारोमा झुन्ड्याएर जुवा माथि तान्दा झनै फुरुंग हुन्थ्यो मन । जुवा बाँधिसकेपछि हल्लुँड लगाउने र हल्लुँडमा लठारो बाँध्ने काममात्र बाँकी रहन्थ्यो । पूजा गरेर काम्रो राख्न नभ्याउँदै पिङ खेल्न तँछाडमछाड भइहाल्थ्यो ।

पिङको लठारो तयार हुँदै जाँदा चिउरा कुट्ने तयारी पनि भइरहन्थ्यो । एक साताभर मध्यरातसम्म चिउरा भुट्ने, ढिकी कुट्ने र घान लाउने क्रम चलिरहन्थ्यो । बुबाआमा चिउरा कुटिरहँदा हामी भुरा ढिकिच्याउँको आवाज सुन्दै निदाउँथ्यौं । बिहान उठ्दा थुन्से भरी–भरी चिउरा देखेर दंग पथ्र्यौं ।

दसैंले गाउँ जुरुक–जुरुक उचालिसकेको हुन्थ्यो । प्रायः सबै घरमा छोराछोरीका लागि नयाँ–नयाँ कपडा किनेर ल्याइसकेको हुन्यो । हामी गोजी भएका कपडा किनिदिन भन्थ्यौं । गोजीमा चिउरा राख्यो, खाँदै हिँड्यो । हुनेका घरमा घोर्ले खसी कराउँथ्यो । त्यसले पनि दसैं आएको झल्को दिन्थ्यो ।

घर लिप्न कमेरो लिन जानेको ताँती पनि लामै हुन्थ्यो । कमेरोले घर लिपेर नयाँ बनाउँदाको खुसी अहिले के वर्णन गर्न सकिन्थ्यो । आमाले खल्पी लगाउन भन्दै पहेंलो हुनेगरी काँक्रो बोटमा राख्नुहुन्थ्यो । बोटबाट काटेर बोरामा बाँधेका केरा पहेंलै हुन्थे अनि बुवाले झिकेर डोरीमा झुन्ड्याउनुहुन्थ्यो । हामीलाई अष्टमी कहिले आउला र केरा चिउरा खाने भन्ने पीरले सताउँथ्यो । बडादसैंको दिन निधारभरि टीका टाँसेर भुइँ छाड्न पिङतिर दौडिन्थ्यौं । र, पो दसैं आएजस्तो लाग्थ्यो । अहिले त दसैं आउँछ, जान्छ । (सुरुंगा, झापाबाट)

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु