गृहपृष्ठ धनगढी बसपार्क : सवारी क्षमता ५०, सवारी संख्या एक हजार
धनगढी बसपार्क : सवारी क्षमता ५०, सवारी संख्या एक हजार
बसपार्क बनाउने विषयमा छलफल नै हुँदैन
सुदूरपश्चिम प्रदेशको मुख्य सहर र व्यापारिक केन्द्र धनगढीमा अझसम्म पनि व्यवस्थित बसपार्क छैन । ४० वर्षअघि ५० वटा बसका लागि बनाइएको धनगढी बसपार्कको क्षमता बढाउन नसक्दा अस्तव्यस्तता बढ्दै गएको छ । हालसम्म सोही बसपार्कबाट सवारी साधन सञ्चालन भइरहेका छन् ।
बसपार्कले सहरी सभ्यतालाई उजागर गर्छ । तर, धनगढीमा व्यवस्थित बसपार्क हुनु त परै जाओस बनाउने योजनासमेत बनेको छैन । धनगढीको मुख्य बजारमै रहेको बसपार्क निकै साँघुरो भएको छ, जसले गर्दा बस पार्किङका लागि पनि ठूलो समस्या हुँदै आएको सुदूरपश्चिम यातायात समितिका अध्यक्ष पदम सापकोटाले बताए ।
साँघुरो बसपार्कको प्रवेश र निकासद्वारमा एउटा बस ओहोरदोहोर गरिरहेका बेला पैदल यात्रीले समेत पसलभित्र पस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिकाका अनुसार २०३६ सालमा धनगढी– महेन्द्रनगर तीन–चारवटा बस चल्दा १९ कठ्ठा जग्गामा बनाइएको धनगढी बसपार्क २०५० सालमा कालोपत्रे गरिएको थियो ।
उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले ५० वटा बसको क्षमताका लागि बनाइएको बसपार्कमा जसोतसो ७० वटा बस पार्किङ गर्न सकिन्छ । अहिले सुदूरपश्चिम यातायातका मात्रै ६ सयवटा बस छन् भने कैलालीमै रहेका थप तीनवटा समितिका बस जोडेर एक हजार बस पुग्छन् ।
नेपालभरबाट आवतजावत गर्ने विभिन्न समितिका बस जोडेर त दैनिक १५ सयको हाराहारीमा बस धनगढी पुग्ने गरेका छन् । बसको संख्या बढ्दै गएकाले दीर्घकालीन सोचका साथ व्यवस्थित रुपमा बसपार्क बनाउनुपर्ने आवश्यकता देखिएको इन्जिनियर भट्टले बताए ।
धनगढीमा सवारीको चाप प्रदेशभरिमा सबैभन्दा बढी भएकाले व्यवस्थित बसपार्कको खाँचो देखिएको छ । टर्मिनल भवन, शौचालय, सुरक्षा भवन, यात्रु प्रतीक्षालय, ग्रिन पार्क, घण्टाघर, पेट्रोल पम्प, डिजिटल सूचना बोर्ड, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौर्य बत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृहलगायतका संरचनासहितको व्यवस्थित बसपार्कको आवश्यकता देखिएको छ । यस्तै, रुटअनुसार बस पार्किङको व्यवस्था हुन आवश्यक छ भने साना र ठूला सवारीको छुट्टाछुट्टै पार्किङको व्यवस्थापनसहितको बसपार्क आवश्यक देखिएको इन्जिनियर भट्टले बताए ।
झन्डै ६ महिनाअघि धनगढी उपमहानगरपालिकाले बोराडाँडीमा सेनाले घेराबार गरेको जग्गामा अनुमतिबिना नै बसपार्क बनाउने भन्दै बोर्ड टाँगेको थियो । वनले पनि अनुमति दिएको थिएन भने सेनालाई पनि सो विषयमा सोधिएको थिएन । सो जग्गामा बसपार्क बनाउनका लागि दुवै निकायले सहमति नदिएपछि धनगढी उपमहानगरपालिकाले पनि नयाँ बसपार्क बनाउने विषयमा छलफलसमेत गर्न छोडेको छ ।
प्रदेशको एकमात्र उपमहानगर रहेको सहर धनगढी अहिले प्रदेश राजनीतिको केन्द्रस्थलका रूपमा मात्र सीमित छैन, उच्च शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार विकासमा समेत सबैभन्दा अगाडि छ । धनगढीमा सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास कार्यक्रम लागू भएकाले चिल्ला सडक पनि बन्नेछन् भने ६ लेनको फराकिलो सडक पनि बनिरहेको छ ।
तर, निर्वाचनका बेला खुबै चल्तीमा रहेको ‘स्मार्ट सिटी’ को नारा एउटा व्यवस्थित बसपार्कसमेत नहुँदा कसरी पूरा होला ! अनि प्रदेशको अस्थायी राजधानीमै नै व्यवस्थित बसपार्क नहुँदा पहिलोपटक प्रदेश आउनेको समग्र सुदूरपश्चिम प्रदेशप्रतिको सोचाइ कस्तो होला ! सम्बन्धित निकायले गम्भीर भएर सोच्ने बेला आएको छ ।
प्रकाशित समय ०९:०० बजे

















