गृहपृष्ठ साइपाल हिमाल आरोहण गर्ने टोलीलाई स्वागत

साइपाल हिमाल आरोहण गर्ने टोलीलाई स्वागत

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल आरोहण गर्ने टोलीलाई भव्य स्वागत गरिएको छ । झण्डै २८ जनाको आरोहण टोली धनगढीबाट बझाङ प्रस्थान गरेको छ । आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छिन् ।

आरोहण टोलीलाई शुभकामना दिँदै मन्त्री भट्टले पाँच वर्षअघि आरोहणका लागि खुला गरिएको साईपाल हिमाललाई चिनाउन गरिएको प्रयास प्रशंसनीय रहेको उनले बताइन् । टोलीलाई पूर्वमन्त्री एबम नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि स्वागत गरेका छन् ।

आफ्नै निवासमा पुगेको टोलीलाई भट्टले खांदा र माला लगाएर सम्मान गर्दै भने, ‘यो मिसन साईपाल अभियानले प्रदेशको पर्यटन विकासमा ठूलो योगदान पुर्याउने छ ।’ भट्टले टोलीलाई केन्द्र सरकार र प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए ।

टोलीमा अमेरिका, फ्रान्स ,स्पेन लगाएतका देशहरु प्रख्यात हिमाल आरोहीहरु रहेको मिसन साईपाल अभियानका संयोजक भोजराज भाटले जानकारी दिए । त्यस्तै टोलीमा ४ जना बझाङका किशोरीहरु र ४ जना शेर्पाहरु पनि रहेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा, सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा साइपाल आरोहण गर्दैछन।

उनीहरुले हिमाल आरोहण सम्बन्धी झन्डै ४५ दिनको अभ्यास कोर्श पनि लिएका छन् । झण्डै ३५ दिन लगाएर गरिने उक्त आरोहणको उदेश्य यस क्षेत्रको पर्यटन विकासको लागी भएको अभियानकर्मी भाटले बताए । साईपालको बेसक्याम्प पुग्न ५ दिन लाग्ने छ । सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमालमा पहिलो पटक आरोहणको प्रयास शुरु भएको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु