गृहपृष्ठ खलङ्गा सडक दुई दशकसम्म पनि ग्राबेल भएन
खलङ्गा सडक दुई दशकसम्म पनि ग्राबेल भएन
खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राबेल गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राबेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ ।
आर्थिक वर्ष ०५५/५६ मा निर्माण शुरु भएको सडकमा ०७३/०७४ मा अस्थायी रुपमा ट्रयाक खुलाइएको थियो । कुल ४४ किलोमिटर सडक निर्माण बेला बेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ ।असारमा आएको बाढीका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो ।
कुल ४४ किलोमिटर सडक मध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो । सो कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामिण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो ।
सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राबेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीय बासिन्दा बहादुर टमटाले बताए ।
वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो ।
अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्गअन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ । सो सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामिले वताए ।
प्रकाशित समय ११:१३ बजे

















