गृहपृष्ठ मेलम्ची आयोजनाका गाडी फिर्ता ल्याउन खानेपानीमन्त्रीको निर्देशन
मेलम्ची आयोजनाका गाडी फिर्ता ल्याउन खानेपानीमन्त्रीको निर्देशन
खानेपानीमन्त्री बीना मगरले अन्यत्र प्रयोग भइरहेका मेलम्ची आयोजनाको गाडी तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका गाडी अन्यत्र प्रयोग भइरहेको सार्वजनिक भएपछि मन्त्री मगरले तत्काल फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।
समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुईवटा गाडी लगिएका छन् । एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ । बा. १ झ ८७५९ नम्बरको टोयोटा प्राडो जिप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो । त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जिप प्रधानमन्त्री कार्यालयमै छ ।
मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीमध्ये मेलम्ची र खानेपानी मन्त्रालयबाहेक अन्यत्र ६ वटा प्रयोगमा छन् । बा. ८ च ६७६० नम्बरको टोयोटा ल्यान्डक्रुजर जिप सहरी विकास मन्त्रालयमा छ । मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ । अहिले टोयोटा ल्यान्डक्रुजर जिपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा. १ झ ८७६३ नम्बरको प्राडो जिप प्रयोग गरिरहेको छ । प्राधिकरणले २०७० साल जेठदेखि उक्त गाडी प्रयोग गरिरहेको छ ।
त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भइरहेको बा. १ झ ७१९४ नम्बरको मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भइरहेको बा. ४ च १५०३ नम्बरको गाडी पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ । खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
प्रकाशित समय १२:०८ बजे

















