गृहपृष्ठ स्यालले टोकेर १५ जनाभन्दा बढी घाइते
स्यालले टोकेर १५ जनाभन्दा बढी घाइते
नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले टोकेर १५ जनाभन्दा बढी मानिस घाइते भएका छन् । जंगलबाट बस्तीमा पसेर एक स्यालले वडा नम्बर १ को ढिकुरेबजार, वडा नम्बर ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए ।
बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको थियो । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ । बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ ।
(रासस)
प्रकाशित समय ११:२१ बजे

















