गृहपृष्ठ जनकपुर–लखनऊ बस सेवा सञ्चालनमा
जनकपुर–लखनऊ बस सेवा सञ्चालनमा
प्रदेश दुईको राजधानी जनकपुरबाट भारत उत्तर प्रदेशको राजधानी लखनऊसम्म बस सेवा सञ्चालनमा आएको छ ।
नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ ।
लखनऊबाट दिउँसो २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ । उक्त दुरीमा यात्रु भाडा भारतीय ९२८ रुपियाँ कायम गरिएको छ । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाए पनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुंगो लाग्न नसकेको बताए । जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।
जनकपुर–पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले लखनऊबाट बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नै नदिएको जानकारी दिनुभयो । लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो ।
गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरे पनि उक्त बस सेवा नियमित हुन सकेको छैन् ।(रासस)
प्रकाशित समय ०७:०८ बजे

















