गृहपृष्ठ छठमा प्रयोग गरिएका पूजा सामग्री अझै उठाइएन, बजार क्षेत्र दुर्गन्धित

छठमा प्रयोग गरिएका पूजा सामग्री अझै उठाइएन, बजार क्षेत्र दुर्गन्धित

एक महिनामा पनि फोहोर नउठाउँदा स्वास्थ्य समस्याको जोखिम

biratnagar_fohor5_newskarobar

मिथिलाञ्चलको महान चाड छठ सकिएको एक महिना बितिसक्दा पनि विराटनगर महानगरपालिकाभित्रका खोला, नहर तथा तलाउहरु अझै सरसफाइ गरिएको छैन । छठका बेला सिँगार्न प्रयोग गरिएका केराका थम्बा, पूजा सामग्रीलगायतका विभिन्न वस्तुहरु पूजा सकिएपछि त्यहीँ छाडेर गएपछि ती सामग्री कुहिएर दुर्गन्ध फैलिएको छ ।

छठपछि त्यस ठाँउको सरसफाइमा कसैले ध्यान नदिँदा नहर छेउका बासिन्दाहरु झिँगा लागेर बस्न नसक्ने स्थितिमा पुगेका छन् । सोही कारण उनीहरूमा विभिन्न रोगको जोखिम पनि देखिएको छ । छठ पर्व सकिएको झण्डै एक महिना भइसकेको छ । तर न त महानगरपालिकाले सरसफाइको पहल गरेको छ न स्थानीयले नै ।

biratnagar_mahanagar_newskarobar

सरसफाइ नहुँदा वरपरका व्यापारी तथा स्थानीयहरु चिन्तित बनेका छन् । छठ पछिको फोहोर व्यवस्थापन हुनु त परै जाओस अरु समयमा पनि वरपरका स्थानीयले नहरमा फोहोर फ्याँकेर नहरलाई नै डम्पिङसाइट बनाउने गरेको सुनसरी-मोरङ सिँचाई आयोजनाको नहर छेउका बासिन्दाहरु बताउँछन् ।

‘छठको फोहोर सफा गर्नु त परै जाओस त्यसमाथि स्थानीयले नै घरबाट निस्कने दैनिक फोहोर नहरमै फालेर दुर्गन्धित बनाएका छन् । दिउँसो अरुले देख्छन् भनेर राति-राति फोहोर फाल्ने गरेका छन्,’ स्थानीय व्यपारी प्रमानन्द प्रयासले भन्छन्, ‘विराटनगर महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने हो तर त्यसै छाडेको छ ।’

biratnagar_fohor6_newskarobar

त्यस्तै स्थानीय सुशीलादेवी सहनी पनि फोहोरका कारण अत्याधिक दुर्गन्ध बढेको बताउँछिन् । ‘जथाभावी नहर छेउछाउको फोहोरले सबै दुर्गन्ध फैलिएको छ,’ सहनीले भनिन्, ‘दुर्गन्धले गर्दा बिरामी हुने त्रास हामीमा छ ।’

विराटनगर–११ का प्रमोद सहनी पनि छठका सामग्रीले दुर्गन्ध फैलाउन थालेपछि आजित बनेका छन् । ‘छठ पूजा गरेर त्यसै फोहोर फालिरहेको अवस्था छ, त्यसमाथि स्थानीयले घरको फोहोरसमेत फालेपछि नहर आसपासको क्षेत्र अति नै दुर्गन्धित बनेको छ,’ उनले भने, ‘विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि केही गरेको छैन । महानगरपालिकाले फोहोर व्यवस्थापनका नाममा हामीसँग मासिक शुल्क लिए पनि सफा गर्दैन ।’

biratnagar_fohor_newskarobar

स्थानीय सरकारको रूपमा महानगरले फोहोर व्यवस्थापनमा अग्रसरता लिनुपर्ने भए पनि महानगर मौन छ । फोहोर व्यवस्थापनमा महानगरले चासो देखाएको छैन । विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले सरसफाइको जिम्मा महानगरले लिने भए पनि अत्याधिक खर्च गरेर पर्व मनाउने र फोहोर गरेर जाने भएकाले यसको मुख्य जिम्मा स्थानीय तथा व्रतालु स्वयंले लिनुपर्ने बताए । यद्यपी सरसफाइको लागि महानगरले पहल गरिरहेको उनको भनाइ छ ।

‘तरार्इका जिल्लाहरुमा छठ पर्व मनाउदा नदी, नहर, पोखरी लगायतका जलाशयमा पूजा गरिन्छ,’ प्रधानमले भने, ‘विराटनगरमा पनि वर्षेनी यो पर्व धुमधामका साथ मनाइन्छ । छठ मनाउन धेरै अगाडिदेखि ताम झामका साथ धेरै पैसा खर्चिँदै आएको अवस्था छ ।’

महानगर आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका प्रधानले सफाइ गर्ने पहिलो जिम्मेवारी फोहोर गर्नेको हुने बताए । ‘महानगरले सरसफाइको जिम्मा लिनुपर्छ यसमा दुविधा छैन तर जति ताम झमका हिसाबले छठ मनाईन्छ त्यसको व्यवस्थापनको जिम्मा पनि प्रथमतः उहाँहरुलेनै लिनुपर्छ,’ उनले भने, ‘पर्व मनाउन्जेल उहाँहरु व्यापक खर्च गरेर श्रोत साधन जुटाउने अनि भोलिपल्ट विहानको सूर्यलाई अर्घ दिएर समापन गरेपश्चात सम्पूर्ण प्रसाद बाहेकका सामान त्यहीँ फालेर हिँड्ने प्रवृत्तिका कारण यस्तो अवस्था देखिएको हो ।’ महानगरले चाँडै फोहोर व्यवस्थापन गर्ने उनको भनाइ छ ।

biratnagar_fohor6_newskarobar

चाडपर्व सकिएको लामो समय भए पनि सरसफाइ नहुनु र स्थानीयले घरबाट निस्किएको फोहोरसमेत नहरमै फ्याँक्ने हुँदा यस क्षेत्रवरपरका बासिन्दालाई प्रत्यक्ष असर परेको छ । यसले जनताको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै वरपर हिँड्नै नसक्नेगरी दुर्गन्ध फैलिएको छ ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु