गृहपृष्ठ महेन्द्र थापाको संयोजकत्वमा ‘बेलका–काठमाडौं सम्पर्क मञ्च’ गठन
महेन्द्र थापाको संयोजकत्वमा ‘बेलका–काठमाडौं सम्पर्क मञ्च’ गठन
उदयपुरको बेलका नगरपालिका र यहाँका नागरिकलाई सामाजिक रुपमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौंमा ‘बेलका–काठमाडौं सम्पर्क मञ्च’ गठन गरिएको छ । शनिबार काभ्रेको धुलिखेलमा आयोजित पिक्निक कार्यक्रममा बेलका ४ घर भइ काठमाडौं बस्दै आएका महेन्द्र थापाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । करिब ९० जना सहभागीले प्रस्तावित समितिलाई अनुमोदन गरेका हुन् । समितिको उपाध्यक्षमा पमिका राई, कोषाध्यक्षमा बाबुराम खतिवडा, सचिवमा लबराज फुयाँल, सह–सचिवमा युवराज आचार्य, सदस्यमा नवराज कुँवर, महेश श्रेष्ठ, रोयल आचार्य, देबिका खड्का, सिताराम घिमिरे, ब्रह्म चौधरी र धनबहादुर परियार सर्वसम्मतीमा चयन भए । ११ सदस्यीय समितिको प्रस्ताव गर्दा सहभागीले अन्य दुईजना थपेर समितिलाई समावेशी बनाउन सुभाव दिएपछि १३ सदस्यीय बनाइएको समिति संयोजक थापाले जानकारी दिए ।
बेलका ४ घर भएका उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सचिव सुरेश राई (हिमाल), समाजसेवी प्रकाश अधिकारी, समाजसेवी मनोज खड्का, बैंकर एवं समाजसेवी हेमन कट्वाललगायतको उपस्थितिमा चयन गरिएको समितिले जम्बो सल्लाहकार टोली पनि गठन गरेको छ । जसमा सांसद राईसहित, उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. नारायण खड्का (प्रस्तावित), दुर्गाकुमार थापा (प्रस्तावित), समाजसेवी रमण भट्टराई, समाजसेवी मनोज खड्का, चक्रबहादुर कट्वाल, प्रकाश अधिकारी, जीवन अधिकारी, टेकबहादुर कार्की, हेमन कट्वाल,शीला कट्वाल, सुनिल थापा, टंक कार्की, खगेन्द्र कार्की, तीर्थ अधिकारी, सबिन थापा (प्रस्तावित), अर्जुन खड्का, बिनिता बिसीलगायत छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेश राईले नयाँ समितिले राम्रा योजनाहरु अघि सारे जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरुको योजना, तौरतरिकादेखि म प्रभावित भएँ,’ उनले भने, ‘राम्रो काम गर्दै जानुभयो भने म तपाईंहरुलाई जस्तोसुकै सहयोग गर्न पनि तयार छु ।’ आफू पनि बेलकाबासी नै भएकाले उक्त क्षेत्रको विकास र समृद्धिका लागि हुने काममा आफ्नो विशेष सहयोग रहने उनको भनाइ थियो ।
समितिले सामाजिक एकता र सेवाका क्षेत्रमा केन्द्रित भइ कार्यक्रमहरु संचालन गर्ने समिति संयोजक महेन्द्र थापाले जानकारी दिए । ‘बेलका र काठमाडौंमा बस्ने बेलकाबासीलाई जोड्न पुलको काम गर्ने त छँदैछ, अब हामी सामाजिक जागरणका विभिन्न कार्यक्रम पनि संचालन गर्छौं, जसले नगरपालिकालाई सभ्य, समृद्ध र सुसंस्कृत बनाउन मद्दत पुर्याउने छ,’ थापाले भने ।
समितिलाई केही दिनभित्रै नाम दिएर आधिकारिक रुपमा दर्ता गर्ने तयारी रहेको सचिव लबराज फुयाँलले बताए ।
समिति मातहत रहने गरी एउटा अधिकारसहितको उपसमिति पनि गठन गरिने समितिका सदस्य महेश श्रेष्ठले जानकारी दिए । ‘गठन गरिने उपसमिति मान्छे अटाउने वा सेटल गराउने खालको मात्रै हुने छैन,’ उनले भने, ‘यो अधिकारसहितको हुने छ र मूल समितिसँग सहकार्य गरी कामकार्बाही गर्ने छ ।’ उनका अनुसार बेलकाका हरेक वडामा संस्था विस्तार गरिने छ ।
यसअघि गठन भइ निष्क्रिया भएका समितिका पदाधिकारीसँग छलफल र समन्वयपश्चात नयाँ समिति गठन गरिएका अर्का सदस्य रोयल आचार्यले बताए । ‘काठमाडौंमा बस्ने अधिकांश बेलकाबासीको सहमतिमा समिति चयन गरिएको छ,’ उनले भने, ‘मलाई लाग्छ, अब यसले संचालन गर्ने कार्यक्रम प्रभावकारी हुने छ ।’
बेलकामा यस्तो खालको संस्था आवश्यक भएको समितिकी सदस्य देबिका खड्काले बताईन् । पिक्निक कार्यक्रममा बेलका नगरपालिकाको १ देखि ९ नम्बर वडासम्म नै समेटिने गरी सहभागी थिए भने धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जुले पनि सहभागित जनाए ।
प्रकाशित समय २२:१० बजे



















