गृहपृष्ठ न्याय माग्दै बेलकाका कोशी पीडितहरू जनप्रतिनिधि लिएर पुगे सिचाइँ मन्त्रालय
न्याय माग्दै बेलकाका कोशी पीडितहरू जनप्रतिनिधि लिएर पुगे सिचाइँ मन्त्रालय
बेलका नगरपालिका १, करहियामा कोशी कटानमा परेको साढे ७ हजार विघा जमिनको क्षतिपूर्ति माग गर्दै सरोकारवालाले सिचाइँमन्त्री संञ्जय शर्मामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नारायण खड्का, बेलका नगरपालिका छायाँ सरकारका प्रमुख एवं कोशी कटान सरोकार समाजका सल्लाहकार अशोक कार्की, समाजका अध्यक्ष डम्बरप्रसाद चौधरी, उपाध्यक्ष भोगेन्द्र प्रसाद चौधरी, नवगठित बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापा (मोतिराज) सहितका पदाधिकारी र सदस्यहरु सिचाइँ मन्त्रालय पुगेर सचिव शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै गर्दा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा पनि सिचाइँ मन्त्रालय पुगेका थिए ।
ज्ञापनपत्रमा नेपाल–भारतबीच सन् १९५४ मा भएको बहुउद्देश्यीय कोशी सम्झौताअनुसार कोशी तटबन्ध तथा पुल निर्माण भएपछि कोशी नदी–कटानबाट पीडित बनेकाहरुले पाउनुपर्ने मुआब्जाबापतको रकम दिलाउन माग गरिएको छ । ‘मुआब्जा, क्षतिपूर्ति प्रयोजनका दुबै देशका अधिकृत स्तर बैठकबाट विंसं.२०१८ देखि ०२१ साल बीचमा ३९४८ विघा १४ कट्ठा ५.५ धुर कटान भएको, ०२२ देखि ०२८ साल बीमा १४८८ विघा १४ कट्ठा १०.५ धुर कटान भएको र छुट लिलजा मौजाको २२१५ विघा १९ कट्ठा ६ धुरसमेत जम्मा क्षेत्रफल ७६६३ विघा ८ कट्ठा २ धुर जग्गाको मुआब्जा क्षतिपूर्ति दिने निर्णय भएकाले सो कार्यात्वयन गरि÷गराउन ध्यानाकर्षण गराउन चाहान्छौं,’ ज्ञापनपत्रमा भनिएको छ । नेपाल र भातरबीच विसं. २०११ साल बैशाख १२ गते ‘बहुउद्देश्यीय कोशी सम्झौता भएको थियो । नेपालका तत्कालीन राजा स्व. महेन्द्र शाह र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको उपस्थितिमा त्यतिबेलाका सिचाइँमन्त्री महाबीर राणा तथा उनका भारतीय समकक्षी गुल्जारीलाल नन्दाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सप्तकोशी ब्यारेज निर्माणमा क्रममा सुनसरीको चतरा, उदयपुरको कमलावारी, सप्तरीको रम्पुरा, मल्हनिया, कुनौलीसम्मको गोवराडालगायतका क्षेत्रमा आवादी जग्गामा अन्नबाली डुबान तथा कटानमा परी हजारौं विघा जग्गा नोक्सान भएको थियो । सम्झौताअनुसार डुबान तथा कटानमा परेका जग्गाको मुआब्जा, क्षतिपूर्ति दिने निर्णयसमेत भएको कोशी कटान समाजका अध्यक्ष डम्बरप्रसाद चौधरीले बताए ।
यसबारे निर्णय लिन चाँडै दुई देशका अधिकारीबीच वार्ता हुन लागेको सचिव शर्माले जानकारी दिए । ‘यसबारे द्धिपक्षीय वार्ता पनि हुँदैछ, उक्त क्षेत्रका सरोकारवालाले ठिक बेलामा ध्यानाकर्षण गराउनुभएको छ, यसबारे नेपाल पक्षबाट कुरा राखिने छ,’ सचिव शर्माले भने ।
यसैबीच, बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरका लागि थप ५ वटा विद्युत ट्रान्सफर्मर माग गरेका छन् । यसका लागि बिहीबार उनी सिचाइँ मन्त्रालय पुगेका थिए । उनका साथमा बेलका विकास समाजका पदाधिकारी र सदस्य पनि गएका थिए । सिचाइँ मन्त्रालयले उनको निवेदन दर्ता गरिसकेको छ । ‘बेलकामा आवश्यकीय ठाउँका लागि ट्रान्सफर्मर माग गरिएको हो,’ नगरप्रमुख थापाले भने ।
प्रकाशित समय १७:४१ बजे

















