गृहपृष्ठ मेची पुल– पञ्चायतकालमा शिलान्यास, बल्ल भयो उद्घाटन

मेची पुल– पञ्चायतकालमा शिलान्यास, बल्ल भयो उद्घाटन

बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि ६६ वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गरेका हुन् । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा संकलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुलको पश्चिमी मुखमा रिबन काटेर पुलको उद्घाटन गरे । हुलाकी राजमार्ग निर्माण परियोजनाले ३७ करोड रुपैयाँको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ९।८ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गरेको हो । ‘लामो समयदेखि प्रतीक्षा गरिएको मेची पुलको निर्माण मेरो पनि सपना थियो’, प्रधानमन्त्री ओलीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘विसं २०१९ तिर रेल हेर्नका लागि म यहीँबाट मेची खोला तरेर गलगलिया गएको थिएँ ।’

प्रधानमन्त्री ओलीले पुलको पूर्वी भागसम्म भारतीय सडकलाई तत्काल जोड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीलाई आग्रह गर्नेसमेत बताएका छन् । ओलीले अब आफूले जस्तो रेल हेर्नका लागि खोलो तरेर भारततिर जानु नपर्ने र आफ्नै कार्यकालमा पूर्वपश्चिम रेल दौडाउने सपना साकार पार्ने दावी गरे । प्रधानमन्त्री ओलीले विगतका सरकारको ध्यान नगएर मेची पुल र हुलाकी राजमार्ग निर्माणमा पट्यारलाग्दो ढिलाइ भएको जनाउँदै अब भद्रपुरलाई आर्थिक केन्द्र बनाउन सरकारले सघाउने बताए ।

प्रदेश सांसद ओमप्रकाश सरावगीका अनुसार विसं २०२४ मा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्र, विसं २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र विसं २०६६ मा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । तीन जनाले तीन पटक शिलान्यास गरेको यो पुलको निर्माण कार्य भने पछिल्लोपटक प्रधानमन्त्री माधवकुमार नेपाल रहेका बेला तत्कालीन उपप्रधानमन्त्री गच्छदारले शिलान्यास गरेपश्चात् तीव्र गतिमा भएको पत्रकार गोपाल थिरी बताउछन् ।

नेपाल चेम्बर अफ कमर्श प्रदेश एकका अध्यक्ष राजेन्द्र घिमिरे मेची पुलको उद्घाटनलाई ऐतिहासिक खुशीको क्षण भएको बताउँछन् । कहिल्यै नबन्ने सपनाजस्तो भइसकेको थियो, मेची पुलको कथा चेम्बरका प्रदेश अध्यक्ष घिमिरे भन्छन्, ‘ढिलै नै भए पनि अब पुल बनेको छ, यो ऐतिहासिक क्षण हो ।’

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले ‘मृत शहर’को उपमा पाएको भद्रपुर नगरले मेची पुलको उद्घाटनपश्चात् अब चोला फेर्ने आशा गरेका छन् । उनले पुलसँग हुलाकी राजमार्गलाई समेत द्रुत गतिमा निर्माण गर्न आवश्यक भएको औल्याउँदै हुलाकी मार्ग र मेची पुलका कारण भद्रपुरमा व्यापार–व्यवसाय फस्टाउने वातावरण बन्ने बताए ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ १७ किलोमिटर नजिकको दूरीमा रहेको बंगलादेश जोड्ने व्यापारिक नाका सञ्चालनमा ल्याउन सके मेची पुलको महत्व अझ बढ्ने बताउछन् । पुलको सपना साँचेर ६५ वर्ष निराशापूर्वक बिताएका भद्रपुरवासीले मेची पुलको उद्घाटन पछि यहाँको आर्थिक र सामाजिक चहलपहल अभिवृद्धि हुने आशा राखेको उनले बताए ।

नवनिर्मित पुललाई हुलाकी राजमार्गको प्रस्थान विन्दु झापाचोकमा जोड्नका लागि नेपालतिर एक हजार ३०० मिटर फराकिलो सडक बनाउन रु चार करोड ४२ लाखमा ठेक्का लागिसकेको छ । भद्रपुर नाकामा यसै वर्षदेखि छोटी भन्सारलाई स्तरोन्नति गरेर प्रमुख भन्सार स्थापना गरिएको हुँदा अब व्यापारिक गतिविधि बढ्ने आशा सबैले गरेका छन् ।(रासस)

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु