गृहपृष्ठ चन्द्रगढीमा रात्रीकालीन हवाई उडान सुरु

चन्द्रगढीमा रात्रीकालीन हवाई उडान सुरु

झापाको भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको उद्घाटन गरेका हुन् ।

विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थल पचास वर्षमा मात्र रात्रिकालीन उडानका लागि आधुनिक प्रविधिले सुविधायुक्त भएको हो । पन्ध सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गरे ।

उहाँ यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाण्डौ फर्किएका थिए । चन्द्रगढी विमानस्थलबाट अहिले यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाण्सडौसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन् ।

विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार अब राति जुनसुकै बेला हवाई यातायात सञ्चालनका लागि चन्द्रगढी विमानस्थल सुविधायोग्य बनेको छ । यती एयरलायन्सले आजैदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ ।

ट्राभल्स संघ झापाका उपाध्यक्ष गोपाल खनालले चन्द्रगढीबाट पोखरा र अन्य गन्तव्यमा हवाई यातायात सञ्चालन गर्न सके पर्यटक लाभान्वित हुने बताउछन् । होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले रात्रिकालीन उडान सुरु भएपछि झापाको ट्राभल्स र होटल व्यवसायीले प्रत्यक्ष रुपमा लाभ पाउने र पर्यटक बढ्ने बताए ।

बुद्ध एयरका सेफ्टी डाइरेक्टर रञ्जन शर्माले चन्द्रगढी विमानस्थलमा कम्तीमा अब दुई हजार २०० भिजिबिलिटीसम्म हवाईजहाज उडान भर्न र अवतरण गर्न सुरक्षित भएको जानकारी दिए ।(रासस)

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु