गृहपृष्ठ उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता
उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले सोमबार शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने बताएका छन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो ।
भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरे ।
उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको जानकारी दिए । उनले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता नजनाउने भए पनि दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने बताए ।
(रासस)
प्रकाशित समय १२:०८ बजे

















