गृहपृष्ठ नारी जीवनका अनेक आयाम
नारी जीवनका अनेक आयाम
त्यो बालापन कति आनन्दमयी थियो । साथीहरुसँग खेल्दै, रमाउँदै स्कुल गएको यादहरु अझै ताजै छन् । झोला हुन्थेन । कम्मरमा अडेस लगाएर किताब कापी बोकिन्थ्यो । अनि हात्तीछाप चप्पल पड्काउँदै गाउँघर डुलिहिँडेको, लुकामारी खेलेको, भुटेको ठेट्ना मकै खाँदै घाँसदाउरा गरेको ती दिनहरु स्मृतिपटमा पत्र-पत्र बनेर सुरक्षित छन् । जो बेला बेला अनायसै मन मस्तिष्कभरि छाइदिन्छ ।
भैंसीलाई घाँस हालेको । पानी खुवाएको । धुवाँमा आँखा रातो पार्दै बाँसको ढुंग्रोले आगो फुकेको । यस्ता धेरै सम्झनाका तरेलीहरु मनमा छचल्किरहन्छन् । मन रमाउँछ ती विगत सम्झेर । लाग्छ, बालापनका यस्ता पलहरु फेरि फर्किदिए हुन्थ्यो । तर कहाँ सम्भव छ र ! खालि मनलाई सताउने मात्र रहेछ ।
सम्झन्छु, घर छेउको खोलामा रुखका मुढाहरु बग्दै आउँथे । त्यो मुढा समाउन म भङ्गालोबीच हुत्तिन्थेँ । उलँदो भेलले मलाई नै लतार्न खोज्थ्यो । म बुवाआमालाई गुहार माग्थेँ । उहाँहरु मलाई गाली गर्नुहुन्थ्यो, ‘किन पसेकी ? भेलले लगेको भए ।’
मेरो मात्र होइन । बालापनका यस्ता सम्झनाहरु सबैसँग हुन्छन् । जति उमेर ढल्कँदै जान्छ, यस्ता सम्झनाहरु उति नै गाढा हुने रहेछ । तर, जति नै रमाए पनि । घर आँगन, गाउँ, छिमेक, खेतबारी र वनपाखामा जति नै मायाममता पोखे पनि । छोरीको जातले आखिर पराइघर जानैपर्ने रहेछ । जब छोरी हुर्किन्छे, बुवाआमालाई छोरीको विवाहको चिन्ता बढ्छ । सायद आमाबुवाको खुसीकै लागि होला, आफ्ना कैयन् इच्छा र आकांक्षालाई तिलाञ्जलि दिँदै माइतीघर छाड्नैपर्छ ।
मनका चाहानाहरुलाई बिट मार्दै पराइघरमा नवदुलही बनेकी चेलीलाई जन्मेहुर्केको घरआँगन, डाँडापाखाको यादले कति पिरोल्दो हो ? बुवाआमा अनि साथीभाइ र आफन्तको सम्झनाले छाती कति पोल्दो हो ?
‘मायालु माइतीघर’को काखबाट एकाएक अलग्गिएर सासु–ससुरा, नन्द-आमाजूलाई रिझाउन दिनरात नभनी कर्मघरको घरधन्दामा हरपल लागिरहनु पर्दा कति गाह्रो हुँदो हो । तर नारी जाति महान छे । आफू पलपल तड्पिएर भए पनि घर र समाजको खुसीको लागि दिनरात खट्छे । बरु मन पोल्ने पीडाका ती आगोहरुलाई सहनशीलताको ज्वालामुखीभित्र हुर्याइदिन्छे र खरानी बनाइदिन्छे । तर विडम्वना, किन त्यही नारी हिंसा र अपजसको सिकार बन्नुपरेको छ ।
अझ भनिन्छ, छोरीमान्छे भएर धेरै बोल्छे । अल्छी छे । काम ठग्छे, पाहुनाको सेवा गर्दिन । सासुससुराको लाञ्छना हुन्छ, मेरो छोरालाई एकोहोरो पारिसकी । छोरो जोइटिङ्ग्रे भयो । हाम्रो समाजमा बोलिने हरेक भाषाले नारीलाई दबाउने प्रयत्न गरिरहन्छ ।
ढिलोछिटो खुसीका दिनहरु आउँछन् । खालि यति हो, समाजलाई कुन बाटोतर्फ लैजान भन्नेमा सचेत हुनु जरुरी छ ।
यो सबै हेर्दा एउटी नारीको जीवन ‘पिँजडामा थुनिएको चरी’को भन्दा फरक हुँदैन । यस्ता पीडाहरु स्वयं नारीलाई मात्र थाहा हुन्छ । अझ कतिले त सासुको बुहार्तन खेप्न नसकी रोएरै जिन्दगी बिताउँछन् । रक्सी पिएर कुटपिट गर्ने, अपशब्दले गाली गर्ने श्रीमानको सास्तीअगाडि ‘के नारीको कुनै अस्तित्व नै छैन र ?’ भनेर सोँच्न बाध्य बनाउँछ ।
परिवारका सबै मिली सरसल्लाहका साथ घर चलाउन पाए दुःखसुख जेजस्तो भए पनि त्योभन्दा स्वर्ग अरु के नै हुन्छ र ! तर हाम्रो नेपाली समाजमा यो कुरा धेरैका लागि टाढा छ । अशिक्षा, अन्धविश्वास र रुढीवादी परम्पराका कारण हुनसक्छ, ‘एकै रथका दुई पांग्रा’भनिने नारीमाथिको शोषण अझै अन्त्य हुन सकेको छैन । अझै पनि अधिकांश नारीहरु अरुकै नियन्त्रणमा बाँचिरहेका हुन्छन् । आफूलाई जति नै आधुनिक र सहरिया नारी भने पनि उनीहरुसमेत पूर्ण स्वतन्त्र हुन सकेका छैनन् । २१औँ शताब्दीमा विद्यमान यस्तो विभेदलाई जरैदेखि उखेलेर नारी पुरुषबीचको समानतापूर्ण समाज निर्माणका लागि हामी सबैले कोसिस गर्नु आवश्यक छ ।
हुन त पछिल्लो समय कानूनी रुपमै नारीको हकअधिकारहरु उल्लेख भएका छन् । तर त्यति मात्र पर्याप्त छैनन् । समय बित्दै जाँदा परिवर्तनका ढोकाहरु त खुल्दै जाला । तर त्यो समयको पर्खाइमा मात्र नबसेर आफैँ पनि ढोका ढकढक्याउन लाग्नुपर्छ । अनि मात्र नारीमाथिको अत्याचार चाँडै अन्त्य हुनेछ । त्यसभन्दा अगाडि आशाको दियो बालिरहनुपर्छ ।
एउटी नारी प्राकृतिक, शारीरिक समस्याहरु झेल्दै छोरी, बुहारी र आमाको भूमिकामा जीवन बिताउँछे । यसबीचमा जीवन-मरणको दोसाँधसम्म पुगेर सृष्टि र वंशको रक्षा गर्छे । यसैमा आफ्नो जीवन अर्पेकी हुन्छे । हुनसक्छ, एकाध नारीले समाजको बदनाम गराए । तर उसलाई त्यहाँसम्म पु¥याउन यही समाज जिम्मेवार हुन्छ । यही समाजले बाध्य पारेको हुन्छ ।
तसर्थ समाजले नारीको पीडा, समस्या, बाध्यता र यथार्थ बुझ्नु जरुरी छ । यस्ता सामाजिक, पारिवारिक उत्पीडन सहेर मन छियाछिया पार्दै भए पनि सधैँ सबैको भलाइका लागि प्रयत्नशील रहने नारी समाजका गहना हुन् । माया ममताकी खानी हुन् । मानव जीवनकै आधार हुन् । भन्ने गरिन्छ, दुःखभित्रै सुख लुकेको हुन्छ । ढिलोछिटो खुसीका दिनहरु आउँछन् । खालि यति हो, समाजलाई कुन बाटोतर्फ लैजान भन्नेमा सचेत हुनु जरुरी छ । त्यसको हकदार हामी नै हौँ ।
प्रकाशित समय १२:१५ बजे

















