गृहपृष्ठ अब मौन नबसौँ
अब मौन नबसौँ
संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो ।
जहिलेदेखि आफूले आफूलाई बुझ्न थालेँ, त्यसबेलादेखि अन्यायको लडाइँ लड्दै आइरहेको छु । हाम्रो समाजमा विद्यमान कुरीति चाहे सामाजिक होस् या जातीयताका आधारमा गरिएको थिचोमिचो होस्, त्यसविरुद्ध आवाज बुलन्द गर्दै सबै जातको उत्तिकै सम्मान र स्वभिमानको रक्षाका लागि म जस्ता धेरै युवालाई सचेत गराएकी छु । समाजका कयौं विकृति र विसंगतिविरुद्ध कदम चाल्दा समयक्रममा म विभिन्न आरोप, आलोचना सहन बाध्य पनि भएको छु । तर, समाज परिवर्तन हुन्छ भने हामी जस्ता हजारौँ युवाले त्यस्ता आरोप र अवरोधलाईलाई हटाउन जोखिम उठाउने मात्रै होइन, आवश्यक परे वलिदान दिन पनि तयार हुनुपर्छ । म सोच्ने गर्थे आजका युवा धेरै सचेत छन् । भलै, पितृसत्तात्मक समाज किन नहोस् तर एक्काइसौँ शताब्दिलाई राम्ररी बुझ्छन् । तर होइन रहेछ । मेरो बुझाइभन्दा फरक रहेछ यो समाज ।
एक बालिकाले तिमीलाई उत्तिकै प्रेम गर्थिन् वा गर्दिन थिइन्, त्यो बेग्लै कुरा हो । दुबैमा प्रेम थियो । विश्वास पनि रहेछ । त्यही विश्वासले एकातिर लकडाउन अर्कातिर रातिको समयमा पनि साँचो प्रेम प्राप्तिका लागि त्यो हिम्मत गरेका थियौ । तर, नवराज तिमीले त्यो आँट गर्नुअगाडि समाजको ऐना हेर्न बिर्सियौ कि थाहा थिएन तिमीलाई ? तिम्रो कमजोरीमा टेकेर समाजले अक्षम्य र पासविक अपराध गरेको छ । तिम्रो कमजोरीलाई सम्झाई‑बुझाई गर्नुपर्नेमा ज्यानै लिनेगरी आक्रमण गर्नु किमार्थ सोच्न सकिने कुरा थिएन ।
सामाजिक सञ्जालमा भेटेको तिम्रो फोटो हेर्दा कलिलो र अनेकौँ रहरहरु मनमा फुराएर मुस्कुराएको प्रस्ट देखिन्छ । साथमा बोकेको रास्ट्रिय झण्डाले अझ प्रस्ट हुन्छ, देशप्रतिको माया र तिम्रो समर्पण । तिम्रो मुटुभन्दा प्यारो राष्ट्रले तिमीलाई स्वाभिमानसहित बाँच्ने अधिकार सुनिश्चित गरेन । आफ्नो प्रेम नै सर्वपरि ठान्यौ तिमीले । तर, समाजले तिम्रो चोखो प्रेमलाई बुझेन । अन्ततः सधैँका लागि अस्तायौ । अबका दिनमा सबैको सम्झनामा मात्र रहनेछौ ।
दर्दनाक पीडाले कति चिच्याउन बाध्य बनायो होला । कति हारगुहार गर्यौ होला । स्मरणमा रहेका सबैलाई पुकार्यौ होला । अवस्थाले तिमीलाई अरुलाई सम्झन नसक्ने बनाए पनि अन्तिम पटक आफ्नो जन्म दिने बा‑आमालाई त पक्कै सम्झियौ होला है ?
हाम्रो समाजमा भएको विकृति जहाँ सबै जातजातिको सम्मान हुँदैन किन ?
कामीको सीपले नेपाल जोडियो,
दमाईको सीपले पहिचान मिल्यो,
सार्कीको सीपले हरेक पाइलामा काँडा बिझ्न दिएन ।
दु:खको कुरा जसको सीपले नेपाल जितेर आफ्नो पहिचान जोगायो, आज तिनै समुदाय अछुत भइरहेका छन् ।
धन्न कामीसँग खुकुरी बनाउने सीप थियो र पुर्खाले शत्रुको नास गरे । कसैको शक्ति टिक्न सकेन । समाजमा विभेदको अन्त्य गर्ला भनेर चुनेको प्रतिनिधि नै आज तिम्रो मृत्युको साक्षी बन्यो ।
तिमीमा घटेको यो दर्दनाक घटनाले अब हामी युवाशक्ति शान्तिपूर्ण सचेतनामा होइन, क्रान्तिपूर्ण चेतनामा लाग्न बाध्य हुनेछौं । शान्तिपूर्ण परिवर्तनको युद्ध जित्ने आशा बोकेका युवालाई बन्दुक बोक्न बाध्य बनाउँदै छ यो समाज । मान्छेको बाँच्ने अधिकार लुट्ने यसै समाजका उपल्लो वर्ग, केही कुखुरे बाहुन, क्षेत्री भनाउँदाहरूलाई यिनै दलित समुदायले एक दिन यातना दिने पक्कै समय आउनेछ ।
दलित समुदायलाई आधार बनाएर शक्तिमा पुगेका प्रचण्ड र बाबुरामले संविधान संशोधन गरेर छुवाछुतको व्यवहार सहँदै आएका समुदाय र ठूलाबडा शासकका बीचमा भएको जातीय पर्खालको अन्त्यका लागि कठोर सजाय दिनुपर्छ भनेर आवाज उठाउनुपर्छ । होइन भने सडकमा युवाहरुले क्रान्ति सुरु गर्नेछन् ।
अन्याय गर्नु मात्रै पाप होइन, सहनु पनि पाप हो । फेरि फेरि कुनै नवराज अनाहकमा मर्नु नपरोस् । आउनुहोस्, सबै जात र जातीय स्वाभिमानको सुरक्षाका लागि आवाज उठाऔँ, बोलौँ, जागौँ सचेत युवाहरु ।
(पथरीनगर ५, मोरङ, हाल : काठमाडौँ)
प्रकाशित समय १०:४९ बजे

















