गृहपृष्ठ मन्त्री अधिकारीको निधनले शोकमै छ मन्त्रालय
मन्त्री अधिकारीको निधनले शोकमै छ मन्त्रालय
सिंहदरबारस्थित संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय छिर्ने ढोकैमा स्वर्गीय मन्त्रि रवीन्द्र अधिकारीको फोटो राखिएको छ । दाँया पट्टि राखिएको त्यो फोटो सँगै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अरु ६ जनाको तस्बिर पनि राखिएको छ ।
मन्त्री अधिकारीको तस्बिरको तलपट्टी लेखिएको छ, हार्दिक श्रद्धाञ्जली ! धुप बत्तीहरू बालिएका छन् । तस्बिरमा अर्पण गर्नका लागि पुष्पगुच्छा र अबिर पनि राखिएको छ । मन्त्री अधिकारीको निधनमा श्रद्धाञ्जली प्रकट गर्न शोक पुस्तिका पनि सँगै राखिएको छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको निधन भएपछि अहिले मन्त्रालय सुनसान छ । मन्त्रालय पुग्नेहरुले श्रद्धाञ्जली दिइरहेछन् । त्यो दृष्य मर्माहत देखिन्छ ।

अधिकारीको निधन भएको एक साता पुगे पनि मन्त्रालय उनको शोकबाट अझै तंग्रीसकेको छैन । मन्त्रालय वरपर सुनसान छ । मन्त्री अधिकारीको कार्यकक्ष पनि त्यत्तिकै सुनसान छ । केही कर्मचारीहरुले मन्त्रालयमा औपचारिकता निभाइरहेछन् । वर्षदिनसम्म सँगै काम गरेका कर्मचारीहरु शोकमै छन् । ढोका छउमा श्रद्धान्जलीको लागि राखिएको फोटो हेर्दै कर्मचारीहरु भन्छन्, ‘मन्त्री ज्यूको तस्बिर हेर्दा उहाँको निधन भएको छ भन्ने नै लाग्दैन । तर त्यो घटना सम्झदा सम्हालिन गाह्रो हुन्छ ।’
मन्त्री अधिकारीको कार्यकक्ष अझ बढी सुनसान छ । कार्यकक्ष छिर्ने ढोकासमेत बन्द गरिएको थियो । केही कर्मचारीहरु मन्त्रालयमा भेटिए पनि अनुहारमा चकम देखिँदैन । मन्त्रालय परिसर पनि उस्तै सुनसान देखिन्छ ।

गएको बुधबार दिउँसो ताप्लेजुङको फुङिलङ नगरपालिका-१०, तारेभिरमा मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री अधिकारीसहित अरु ६ जनाको निधन भयो । सो घटनापश्चात शोकमा रहेको मुलुक अझै पूर्णरूपमा तंग्रीनसकेको झल्काउँछ मन्त्री अधिकारीको कार्यकक्ष र मन्त्रालय परिसरले ।
डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोयको निधन भएको थियो । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्रीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
प्रकाशित समय १६:२७ बजे

















