गृहपृष्ठ ललितपुर महानगरपालिकामा वाटर एटीएम, २ रूपैयाँमै पिउने पानी

ललितपुर महानगरपालिकामा वाटर एटीएम, २ रूपैयाँमै पिउने पानी

water atm photo news-newskarobar

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्रांगणमा नेपालमै पहिलोपटक वाटर एटीएम सञ्चालनमा ल्याएको छ । खानेपानीमन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी छन् ।

उद्घाटनपछि उनले एटीएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमा पहिलोपटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए । वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गर्दै लगिने उनले बताए ।

कार्यक्रममा मन्त्री मगरले बाटोमा हिँड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गरिन् । उनले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशन दिइन् ।

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामकरण गरिएको छ । एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन सकिन्छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटीएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन सकिनेछ ।

बोर्डले सुपिङ इन्टरनेसनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटीएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु