गृहपृष्ठ कांग्रेसले भन्यो: सरकार गैरजिम्मेवार

कांग्रेसले भन्यो: सरकार गैरजिम्मेवार

nepali-congress-www.newskarobar.com

प्रमुख प्रतिपक्ष कांग्रेसले पछिल्लो पटक प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने गरी ल्याइएको विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादतर्फ अघि बढ्ने अस्त्रको रुपमा टिप्पणी गरेको छ । पार्टीको संसदीय दलको सोमबार बसेको बैठकले संसदको हिउँदे अधिवेशनको समीक्षा गर्दै यस्तो टिप्पणी गरेको हो । सेना परिचानसम्बन्धी पछिल्लो घटनासम्म आइपुग्दा कांग्रेसले प्रधानमन्त्री ओलीको अधिनायकवादतर्फ अघि बढ्ने पछिल्लो श्रृंखला भनी टिप्पणी गरेको हो ।
विकेन्द्रित गर्नुपर्ने अधिकारजति सबै आफूमा केन्द्रिकृत गरी संघीयतालाई कमजोर बनाउने ध्येय प्रधानमन्त्री ओलीमा देखिएको काग्रेसका सांसदहरुको आरोप छ । काग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘एकातिर सुरक्षा परिषद्लाई वेवास्ता गर्दै सेना परिचालनको अधिकारसमेत आफै लिन खोज्ने, अर्कोतर्फ प्रदेश र स्थानीय तहलाई अधिकार नदिने, प्रधानमन्त्री ओलीको यो शैली अधिनायकवादतर्फ अघि बढ्ने नै हो भन्ने काग्रेसकोे ठहर छ ।’
संसदमा विचराधीन रहेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान राखिएको छ । संविधानमा भने सेना परिचालनको घोषणा सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषदको निर्णयबमोजिम हुने व्यवस्था छ ।
यस्तै राष्ट्रिय र जनोसरकारका विषयमा सरकार सदनप्रति उत्तरदायी नभएको निष्कर्ष काग्रेसले निकालेको छ । शान्तिसुरक्षा, सुशासन, बलात्कार, हत्या हिंसा, मूल्यबृद्धिलगायतका जनप्रतिनिधिहरुले उठाएका मुद्दामा सरकार गैरजिम्मेवार बनेको कांग्रेसको आरोप छ । पूर्ववर्ती सरकारले अघि बढाएका ठूला योजनाहरुलाई आफैंले अघि बढाएको जस्तो गरी डिंग पिट्ने कामबाहेक यो सरकारबाट केही भएको नदेखिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले बताए । सरकार गठन भएदेखि प्रधानमन्त्री केपी ओलीले आफूमा शक्ति केन्द्रित गर्ने, स्थानीय र प्रदेश सरकारलाई क्रमशः कमजोर बनाउँदै लैजाने काम थालेको कांग्रेसले जनाएको छ ।

प्रकाशित समय १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु