गृहपृष्ठ एसईई परीक्षा सारेको विरोधमा तराईका जिल्लामा प्रदर्शन जारी
एसईई परीक्षा सारेको विरोधमा तराईका जिल्लामा प्रदर्शन जारी
प्रदेश नं २ को एसइई परीक्षा स्थगित गरिएको विरोधमा परीक्षार्थीहरुले अहिले पनि बारा जनकपुरलगायतका जिल्लामा प्रदर्शन गरिरहेका छन् । प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रिएका हुन् ।
बाराको जितपुरमा बिहान विद्यार्थी र प्रहरीबीच झडप नै भएको थियो । जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै झपडपमा परी प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् भने केही विद्यार्थी पनि घाइते भएका छन् । विद्यार्थीहरुले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए । अहिले भने स्थिति नियन्त्रणमा आइसकेको जितपुर प्रहरीले जनाएको छ ।
बाराकै कलैयामा भएको झडपमा प्रहरी नायव निरीक्षक (सई) अशोक कुर्मी घाईते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीको एक मोटरसाइकल जलाएका छन् । गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उता, जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलविरुद्ध नाराबाजी गरेका थिए । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । परीक्षाको चौथो दिन बिहीबार हुने विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो । शुक्रबार हुनुपर्ने सामाजिक विषयको पनि प्रश्नपत्र पनि बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा भाईरल भएको थियो । प्रश्नपत्र कहाँबाट आउट भएको भन्नेबारे सरकारले छानबिन गरिरहेको छ ।
प्रकाशित समय १५:१४ बजे

















