गृहपृष्ठ मनसुन पूर्वतयारी गर्न गृहको उर्दी
मनसुन पूर्वतयारी गर्न गृहको उर्दी
१४ गते नै बसेको थियो विपत् बैठक
बारा र पर्सा जिल्लामा हावा-हुरीले व्यापक विनास गरेपछि गृह मन्त्रालयले आगामी मनसुनले पुर्याउन सक्ने क्षतिका विषयमा सावधानी अपनाउन देशभरिका स्थानीय तहलाई अपिल गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरेको हो ।
विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका विभिन्न निकाय तथा संघसंस्थालाई बाढी पहिरो रोकथाम तथा उद्धारमा सक्रिय गराउने निर्णय हालैमात्र सरकारले गरिसकेको छ ।
सरकारले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संस्थाहरूलाई समेत अमन्त्रण गरी विपत् पूर्वतयारी र पूर्वप्रबन्धसम्बन्धी बैठक तुरुन्तै राख्न पत्राचार गर्ने निर्णय गरेको तीन दिन नबित्दै बारा-पर्सामा भयावह हुरी चली क्षति भएको पाइएको छ ।
१४ गते नै बसेको थियो विपत् बैठक
न्युज कारोबारलाई प्राप्त गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको निर्णय पुस्तिकाअनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका बारेमा चैत १४ गते नै बैठक बसेको थियो ।
यस्तो थियो निर्णयः
१. आगलागी तथा बाढी, पहिरोजस्ता विपदका घटना तथा सोबाट हुनसक्ने सम्भावित जोखिम र क्षतिका सम्बन्धमा जनचेतना फैलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका निकायले समन्वय गर्ने निकायलाइ अनुरोध तथा मातहतका जिल्ला तथा स्थानीय तहका निकाय तथा कार्यालयहरूलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने ।
२. प्रदेश तथा स्थानीय स्तरमा पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा, अवश्यक अपतकालीन उद्धार तथा राहत क्षमता विकास गर्न अनुरोध गर्ने ।
३. जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूले अगलागी, बाढी पहिरोको प्रभावबाट सुरक्षित रहने उपायहरूका सम्बन्धमा विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संस्थालाई समेत अमन्त्रण गरी पूर्वतयारी र पूर्वप्रबन्धसम्बन्धी बैठक तुरुन्तै राख्न पत्राचार गर्ने । विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका विभिन्न निकाय तथा संघसंस्थाहरूलाई बाढी पहिरो रोकथाम तथा उद्धारमा सक्रिय गराउने । सबै जिल्लाहरूलाई मनसुनसम्बन्धी कार्ययोजना बनाइ सम्भावित जोखिमलाई न्यूनीकरणा गर्न तयारी अवस्थामा रहन लगाउने ।
४. अगलागी तथा वन डढेलोका घटनाबाट मानवीय, भाैतिक तथा वातारणीय क्षतिलाई न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायताका क्षेत्रमा कार्यरत संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई थप सक्रिय रहन अनुरोध गर्ने । विपदका घटनाहरूबाट हुनसक्ने सम्भाविकत जोखिम न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रबाट भइरहेका काम कारबाही थप प्रभावकारी बनाउने ।
५. मनसुनका समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकारका सरोकारवाला मन्त्रालयहरू तयारी अवस्थामा रहन तथा प्रदेशस्तरीय मन्त्रालय र स्थानीय सरकारलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने ।
६. सम्भावित विपदका घटनाका समयमा र घटनापश्चात अइपर्ने स्वास्थ्यसम्बन्धी अवस्थालाई काबुबाहिरको परिस्थितिमा जान नदिन अवश्यक उपकरण र औषधीहरूको पर्याप्त व्यवस्थासिहत जनशक्ति तयारी अवस्थामा राख्न र राख्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने ।
७. मनसुनके समयमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न क्लस्टर लिड एन्ड को-लिड निकायबाट क्लस्टरवाइज कार्ययोजना, ह्युमनिटरियन कन्ट्री टिम र नेपाल रेडक्रस सोसाइटीले आ–आफ्नो कार्ययोजना इमरजेन्सी आइटम स्टकपाइल र रिसोर्स म्यापिङसहित तयार पारी सोको अगामी वैशाख पहिलो हप्तामा गृह मन्त्रालय, राष्ट्रिय अपतकालीन कार्यसञ्चालन केन्द्रमा उपलब्ध गराउने
८. मनसुनका समयमा बाढी पहिरोबाट पूर्वाधार तथा भैतिक सम्पत्तिमा पुग्नसक्ने सम्भावित क्षति तथा राजमार्ग, खानेपानी पाइपजस्ता लाइफ लाइनहरूमा हुनसक्ने अवरोधलाई मध्यनजगर गरी रणनीतिक स्थानहरूमा हेवी इक्विपमेन्टसहितको टोली तयारी अवस्थामा (स्ट्यान्डबाइ) रहन भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने । यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अअफ्ना मातहतका निकायहरूलाई सक्रिय बनाइ लाइफ लाइनलाई तत्काल सुचारू गर्ने व्यवस्था मिलाउने ।
प्रकाशित समय १३:१९ बजे

















