गृहपृष्ठ ट्राफिक प्रहरीलाई चाहिँ नियम लाग्दैन ?

ट्राफिक प्रहरीलाई चाहिँ नियम लाग्दैन ?

सानालाई ऐन ठूलालाई चैन । यो उखान आज पनि नेपाली समाजमा उत्तिकै प्रचलित र सान्दर्भिक छ । नियम साना–ठूला सबैलाई बराबर हुनुपर्ने हो । विडम्बना, यहाँ त्यस्तो छैन । जो बोल्न सक्दैन वा माथिसम्म पहुँच छैन उचाहिँ बढी पेलिन्छ यहाँ ।

दिनप्रतिदिन सवारी दुर्घटना बढ्दो छ । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय सवारी साधनको सिट क्षमताभन्दा धेरै यात्रु बोकेर हिँड्ने सवारी चालक ट्राफिक प्रहरीको निशानामा छन् । क्षमताभन्दा धेरै यात्रुलाई झण्डिएर सवारी चलाएमा चालक ठाउँको ठाउँ कारबाहीमा पर्छन् । ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना तिर्न बाध्य हुन्छन् । साँझ– बिहान अफिस समयमा गाडी कम भएपछि यात्रुहरु नै झुन्डिएर यात्रा गर्न बाध्य छन् । चालक र यात्रुले लापरबाही गरे ट्राफिक कक्षा समेत दिइने गरेको छ । तर, नियम पालना गराउने प्रहरीहरु नै नियम मिच्न उद्यत देखिन्छन् ।

हालैमात्र भिआइपीको स्कटिङमा हिँडेको प्रहरीको एउटा भ्यानले गलत बाटो प्रयोग गरी सही बाटोमा हिँडिरहेको स्कुटरलाई ठक्कर दिएको घट्ना होस् वा सडक नियम पालना गराउने ट्राफिक प्रहरी नै झुण्डिएर यात्रा गरिरहेको दृष्यले ‘जो अगुवा उही बाटो ….’ भन्ने उखानलाई चरितार्थ गरेको छ ।

दृष्य मंगलबार बिहान काठमाडौं मित्रपार्कको हो । एकातर्फ झुण्डाएर यात्रु बोक्ने सवारीलाई कारबाही गरिँदै थियो भने अर्कोतिर नियम पालना गराउने ट्राफिक प्रहरीमध्येका एक माइक्रोबसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । ट्राफिक नियम पालना गरौं, झण्डिएर यात्रा नगरौं भन्दै ट्राफिक प्रहरीको भ्यान सडकमा गुडिरहेको हुन्छ । तर, ट्राफिक प्रहरी नै त्यसरी झुन्डिएर यात्रा गरेको दृष्य सर्वसाधरण निकै आश्चर्यचकित भएर हेरिरहेको थिए ।

ट्राफिक नियम सिकाउने र कार्यान्वयन गराउने ट्राफिक प्रहरीले नै नियम उल्लंघन गरेमा कसले कारबाही गर्ने ?

अरुलाई ट्राफिक नियम सिकाउने र कारबाही गर्ने ती ट्राफिक प्रहरीले जोरपाटी–रत्नपार्क चल्ने निलो माइक्रोले यात्रुलाई गन्तव्यसम्म नपुर्याइ बीच बाटोमै छाड्ने गरेको देखेर पनि कारबाही गरेका छ्रैनन् । गौरीघाट रुटमा चल्ने निलो माइक्रोले मित्रपार्कमै यात्रु ओराल्छन् । मित्रपार्कबाट फेरि अरु यात्रु हालेर ती माइक्रो रत्नपार्क पुग्छन् भने कतिपय जोरपाटी नै फर्किन्छन् । सबै ट्राफिक प्रहरी गलत छन् भन्ने होइन । तर, यात्रु, सवारी चालक वा पैदलयात्रीको सुरक्षाका लागि खटाइएको कतिपय ट्राफिक प्रहरी आफ्नो जिम्मेवारी भुलेर गतिविधि गरिरहेका छन् । यो त एउटा प्रतिनिधि घट्नामात्रै हो । ‘यो एक खालको बेथिति नै हो,’ मित्रपार्कका सोभित बस्नेत भन्छन्, ‘यस्ता प्रहरीलाई कारबाही हुनुपर्छ ।’

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु