गृहपृष्ठ ‘जीवन जिउन सजिलो बनाएन भने त्यो के शिक्षा ?’
‘जीवन जिउन सजिलो बनाएन भने त्यो के शिक्षा ?’
निजी क्षेत्रलाई विद्यालय तथा कलेजमा लगानी खुला भएको चार दशक पुग्न लागेको छ । यो अवधिसम्म निजी क्षेत्रले शिक्षामा लगानी, रोजगारी सिर्जना, पूर्वाधार विकास र वार्षिक आर्थिक कारोबारमा ठूलै फड्को मारिसकेको छ । बाल विकास केन्द्रमा सहित गरेर झण्डै १९ लाख विद्यार्थी निजी लगानीका विद्यालयमा अध्ययन गरिरहेका छन् । तर, निजी विद्यालयका बेथितिबारे पनि बेला–बेला चर्काे टिप्पणी हुने गरेको छ । अनावश्यक शीर्षकमा शुल्क असुल्ने आरोप होस् वा विद्यार्थीलाई निर्यात गर्ने खालको शिक्षा अंगिकार गरेको भन्ने टिप्पणी, यसले बहसको रुपमा पाएकै छ । यसै सन्दर्भमा नेपालमा निजी विद्यालय र यसको अवस्थाबारे शिक्षाका जानकार एवम् सेन्ट जर्ज इन्टरनेसनल स्कुलका अध्यक्ष पल्हाद दाहालसँग न्युजकारबारका सञ्जय श्रेष्ठले कुराकानी गरेका छन् ।
निजी विद्यालयहरुले अनावश्यक शीर्षक खडा गरी शुल्क उठाइरहेका छन् भन्ने आरोप लाग्ने गरेको छ । के साँच्चै यस्तो भइरहेको छ ?
अरुले के गरेका छन् भन्ने कुरामा म जानकार छैन । तर, हामीले त्यसो गरेका छैनौं । विद्यार्थीलाई विद्यालय भर्ना गर्नुअघि नै अभिभावसँग हामीले भनेका कुराभन्दा बाहिर गएर कुनै शुल्क लिएको छैन । कसैले लिन्छ भने त्यो सरासर गलत हो ।
निजी विद्यालयले शिक्षालाई धन्दा बनाए, उनीहरु सिकाइ उपलब्धिमा भन्दा बढी आर्थिक संकलनमै उद्यत छन् पनि त भनिन्छ ?
त्यसो होइन । तपाईंले भनेजस्तै हुन्थ्यो भने अभिभावकले निजी विद्यालय छान्नै छाडिसक्थे । केही विद्यालयमा त्यस्तो खालको प्रवृत्ति देखिएको भन्दैमा सबैलाई एउटै डालोमा हालेर हेर्न हुँदैन । जसले जे भने पनि सिकाइ उपलब्धिमा निजी विद्यालय अब्बल नै छन् । सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने त्यस्तै खालको संयन्त्र, जनशक्ति, स्रोत र साधनको आवश्यकता हुन्छ । ती सबै परिपूर्ति गर्ने क्रममा केही महंगो हुन जान्छ । तर, पैसा नै कुम्ल्याउँछन् भन्ने मिथ्या आरोप हो ।
सरकारी विद्यालयमा विद्यार्थीले तिर्नुपर्ने रकम र निजीमा तिर्नुपर्ने रकम तुलना गरौं, निजीमै सस्तो पर्छ । अर्को कुरा, सिकाइ उपलब्धि हेर्नु भयो भने सरकारीभन्दा कैयौं गुणा विद्यार्थी निजी स्कुलबाटै सफल बनेका छन् । बरु सरकारले एउटा सिस्टमको विकास गरोस्, जसमा विद्यालयहरुको खर्च तोकिएको होस् । बेकारमा निजी विद्यालयलाई मिथ्या आरोप लगाएर निरुत्साहित पार्ने काम नगरियोस् ।
निजी विद्यालयमा अध्ययन गरेका अधिकांश विद्यार्थी विदेशिएको तथ्यांकले बताउँछ । यस्तो किन हुन्छ ?
अध्ययनका लागि विदेश जानु राम्रो कुरा हो । तर, उतै पलायन हुनु चाहिँ मुलुकका लागि नोक्सानी हो । हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्छौं । उनीहरुमा सिक्ने उत्साह बढाउँछौं । उनीहरु सिकाइलाई अझ विस्तृत र बहुआयामिक बनाउन चाहान्छन् । थप अध्ययन गर्ने र सीप सिक्ने उद्देश्यले विदेश जान्छन् । अब उनीहरुलाई फर्काएर स्वदेशमै सीप र क्षमता प्रदर्शन गर्न सक्ने अवसर सिर्जना गर्ने दायित्व राज्यको पनि त हो । विदेश जान पनि त्यतिकै पाइँदैन । विद्यार्थी क्यापेबल हुनुपर्छ । विद्यालयहरुले उनीहरुलाई सक्षम र योग्य बनाउने हो । त्यसपछि निर्णय लिने जिम्मा र अधिकार उनीहरुमै निहीत हुन्छ ।
विद्यालयस्तरमै विद्यार्थीलाई स्वदेशमै अवसर छ र खोज्नुपर्छ भन्ने कुरा पनि त सिकाउन सकिन्छ नि !
हेर्नुस्, अहिलेका बच्चा प्लेन नचढिकन त्यसबारे सबै आइडिया बुझेर बसेका हुन्छन् । विदेश नगए पनि त्यहाँको रहनसहन, भाषा, संस्कृतिलगायतबारे जानकार हुन्छन् । मुलुकलाई समृद्ध बनाउने प्रयासमा निजी विद्यालयले पनि त भूमिका खेलेका छन् र खेल्नुपर्छ । निजी विद्यालयमा पढ्ने सबै विद्यार्थी विदेश पलाउन हुन्छन् भन्नु नै गलत हो । डाक्टर, ईन्जिनीयर, पाइलट, व्यवसायीहरु यही देशमा बसेर सेवा र व्यवसाय गरेको कुरा पनि त देख्नुपर्यो नि ! कसैले विदेशमा पाइला नटेकी नेपालमै गरेर देखाएका छन् । कतिपय चाहिँ विदेश गएर शिक्षा आर्जन गरी, सीप हासिल गरी नेपाल फर्किर काम गरिरहेका छन् ।
नेपालको शैक्षिक प्रणाली नै सही छैन भन्ने टिप्पणी र बहस हुने गरेको छ । तपाईंलाई के लाग्छ ?
शिक्षा व्यक्ति, समाज र राष्ट्रको उन्नयनसँग जोडिएको विषय हो । यो सैद्धान्तिक वा घोकन्ते नभएर व्यवहारिक हुनुपर्छ भन्ने तर्क ठिक हो । हामीले अहिले अंगिकार गरिरहेको शिक्षा प्रणालीलाई रिभ्यू गर्नुपर्ने बेला चाहिँ भएकै हो । शिक्षा व्यवहारिक र नैतिक विकास केन्द्रित हुनुपर्छ भन्ने लाग्छ ।
त्यसो त, घोकन्ते शिक्षालाई निजी विद्यालयहरुले नै बढी प्रश्रय दिएको पाइन्छ नि !
यो सरासर गलत आरोप हो । सबै विद्यालयको म भन्न सक्दिनँ । तर, हाम्रो विद्यालय पनि निजी स्तरबाट सञ्चालित हो । हामीकहाँ घोकन्ते शिक्षाको कुनै स्थान छैन । हाम्रो विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीकै मेहनत मान्नुपर्छ, शिक्षालाई व्यवहारिक र नैतिक मोडेलमा कसैले ढाल्दैछ भने त्यो सेन्ट जर्ज इन्नरनेसनल नै हो ।
सेन्ट जर्ज इन्टरनेसनल स्कुल र यहाँको शिक्षाबारे केही बताइदिनुस् न ।
सेन्ट जर्ज इन्टरनेशल स्कुलको स्थापना सन् १९९० सालमा भएको हो । सिद्धार्थ विद्यापीठको नाममा सुरु भएको यो स्कुलको नाम सन् २०१२ सालमा परिवर्तन गरी सेन्ट जर्ज इन्टरनेसनल राखिएको हो ।
हाम्रो स्कुल मध्यम खालको स्कुल हो । तर, शिक्षण सिकाइ क्रियाकलाप र सिकाइ उपलब्धि हेर्नुभयो भने आफूलाई ठूलो मान्ने कुनै विद्यालयभन्दा हामी कमी छैनौं । हाम्रो स्कुल सबै वर्ग र क्षेत्रका अभिभावकलाई एफोर्ट हुने विद्यार्थीले प्रभावकारी सिकाइ हासिल गर्ने खालको स्कुल हो ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउन कुनै त्यस्तो फरक विधि अपनाउनुभएको छ ?
बिलकुल हामी अरु विद्यालयभन्दा फरक ढंगको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्छौँ । हामी व्यवहारिक र नैतिक शिक्षामा बढी जोड दिन्छौं । विद्यार्थीलाई विद्यालयको परीक्षामात्रै होइन जीवनको परीक्षा पास गर्ने बनाउँछौं । मैले ‘जीवनको परीक्षा’ भनेर सांकेतिक उदाहरण दिन खोजेको हो । विद्यार्थीको जीवनमा हामीले दिएको शिक्षाको प्रभाव परेन, उसका कठिनाइमा उसले सहज रुपमा आफूलाई उभ्याउन सकेन र फेस गर्न सकेन भने त्यो के शिक्षा ? हामी विद्यार्थीको जीवन, समाज र राष्ट्रको समृद्धिलाई ध्यानमा राखेर शिक्षण सिकाइ अघि बढाउँछौं ।
भनेपछि तपाईंको विद्यालयमा पढेका कतिले ‘जीवनको परीक्षा’ पास गरे त ?
हाम्रो विद्यालयमा पढेका प्राय विद्यार्थी सफल बनेका छन् । कतिपय विद्यार्थी अमेरिका, अस्ट्रेलिया, क्यानाडालगायतका देशमा अध्ययन गर्न गएका छन् । कोही चाहिँ यहाँ उच्चपदस्थ सरकारी कर्मचारी, सफल व्यवसायी, राजनीतिज्ञ, कुशल पत्रकार बनेका छन् । अझ महत्वपूर्ण कुरा के हो भने हाम्रो स्कुलबाट पासआउट भएका विद्यार्थीहरु नैतिकवान छन् । जो नैतिकताको परिधिभित्र रहेर जीवनमा अघि बढ्छ ऊ अवस्य सफल हुन्छ, यो मेरो मान्यता हो ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको समन्वय प्रभावकारी हुनुपर्छ । तपाईंहरुले सम्बन्ध कसरी मेन्टेन गर्नुभएको छ ?
हामी प्रत्येक विद्यार्थीको अभिावकसँग प्रत्यक्ष रुपमा सम्बन्ध स्थापित गरेका छौं । हामी विभिन्न कृयाकलापमा अभिभावकको उपस्थिति अनिवार्य बनाएका छौं । प्रत्येक विद्यार्थीको समस्या हामी उसका अभिभावकलाई बोलाएर जानकारी गराउँछौं र समाधानका लागि अग्रसरता लिन्छौं । विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्ध सौहार्दपूर्ण रुपमा अगाडि बढिरहेको छ ।
विद्यार्थीलाई पढूँपढुँ लाग्ने वातावरण बनाउन तपाईंहरुको विद्यालयले के गर्छ ?
हामी विद्यार्थीसँग पारिवारिक व्यवहार गर्छौँ । विद्यार्थीको कमीकमजोरीलाई सुधार्नका लागि सधैं हौसला प्रदान गर्छौँ । जका लागि हामी विभिन्न स्थानको भ्रमण, विज्ञ र समाजका अगुवा, प्रेरक व्यक्तिहरुसँग अन्तरक्रियालगायतका कार्यक्रम, भिडियो प्रर्दशन गरी हौसला प्रदान गर्ने गर्दछौं । विद्यार्थीलाई मनोरञ्जन र ज्ञान सँगै प्रदान गर्छौँ ।
प्रकाशित समय १५:५६ बजे

















