गृहपृष्ठ गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गरे ।

अमेरिकाले ‘मिलेनियम च्यालेञ्ज कोपरेशन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ । भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु