गृहपृष्ठ अमेरिकी नागरिकलाई हुवावेले जागिरबाट निकाल्यो
अमेरिकी नागरिकलाई हुवावेले जागिरबाट निकाल्यो
चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै कालोसूचिमा राखेसँगै हुवावेले अमेरिकी कर्मचारीलाई निकालेर प्रतिशोध साधेको हो । हुवावेले केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो । साथै हुवावेले अबका दिनमा अमेरिकासँग आफ्नो कुनै पनि प्राविधिक सम्बन्ध नरहने घोषणा गरेको छ ।
यसअघि हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका र चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने धारणा राखेपछि रेनले तत्कालै प्रतिक्रिया दिएका हुन् ।
ब्लुमवर्ग टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा रेनले ट्रम्पको सो प्रस्तावलाई जोक भनेका छन् । अमेरिकाले भविष्यमा हुवावेका सामान किन्न चाहे पनि आफूहरुले नबेच्ने रेनले बताए ।
ट्रम्पको निर्देशनअनुसार अमेरिकी सर्च इन्जिन गुगलले हुवावेका नयाँ फोनमा जिमेल, गुगल म्याप, युट्युब लगायतका सुविधा दिने छैन भने चलिरहेका फोनमा पनि सफ्टवेयर अपडेट गर्ने छैन ।
अमेरिका र चीन करिब ९ महिनादेखि व्यापार युद्धमा छन् । बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता पनि असफल भएका छन् । पछिल्लो समय दुबै मुलुकले आयात गर्ने सामानमा कर बढाउने प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रकाशित समय १७:०२ बजे

















