गृहपृष्ठ शाहीलाई यातना दिइएको छैन : प्रहरी

शाहीलाई यातना दिइएको छैन : प्रहरी

surkhet-police-newskarobar

भिडियो अन्तर्वार्ताका क्रममा कर्णालीको पत्रकारिता र पत्रकारलाई तथानाम गालीगलौज गर्ने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना नदिएको प्रस्ट पारेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सोमबार पत्रकार सम्मेलन गर्दै शाहीले प्रहरीमाथि लगाएको आरोप गलत र निराधार भएको बताएको हो ।

गत वैशाख १८ गते एक अनलाइनले फेसबुकमार्फत अन्तर्वार्ता दिँदै पत्रकारलाई तथानाम गाली गरेपछि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले संयुक्त रुपमा शाहीविरुद्ध जायरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले वैशाख १९ गते शाहीलाई पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।

अदालतको आदेशमा शाहीलाई जेठ १५ गते वीरेन्द्रनगरको खुल्लामन्चबाट प्रहरीले पक्राउ गरेको थियो । शाही पक्राउ परेयता सामाजिक सञ्जालमा प्रहरी र पत्रकारमाथि टिकाटिप्प्णी हुन थालेका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले शाहीले सञ्चार माध्यममा प्रहरीबाट यातना खेप्नुपरेको अन्तर्वार्ता निराधार र गलत भएको दावी गरे ।

‘शाहीलाई पक्राउ परेलगत्तै प्रहरी निरीक्षकको कार्यकक्षमा राखिएको छ, हिरासतमा नराखेर काठमाडौं पठाएको थियो,’ उनले भने, ‘शाहीलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले जबर्जस्ती गरेको हो । तर, उनका समर्थकले ढुंगामुढा गर्दा प्रहरीसमेत घाइते भएका छन् ।’ उनका समर्थकले प्रहरीमाथि ढुंगामुढा गर्दा शाहीलाई चोट लागेको उनले बताए । शाहीलाई पक्राउ पुर्जीबिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भएपछि प्रहरीले ती आरोप आधारहीन भएको बताएको छ ।

प्रहरीका अनुसार अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरिएको थियो । शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्वय रामसागर बर्मा, जितबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका छन् । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेका समर्थकलाई समेत सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु