गृहपृष्ठ गण्डकीका मुख्यमन्त्री भन्छन्- इन्जोय जोन यौन व्यवसायका लागि होइन

गण्डकीका मुख्यमन्त्री भन्छन्- इन्जोय जोन यौन व्यवसायका लागि होइन

chief-minister-gandaki-pradesh-newskarobar

गण्डकी प्रदेश सरकारले इन्जोय जोनलाई प्रोजेक्ट बैंकको रुपमा अघि बढाउने तयारी गरेको प्रस्टीकरण दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सोमबार संसदमा सम्बोधन गर्दैै पोखरामा पर्यटक आकर्षणको लागि प्रोजेक्ट बैंककै रुपमा इन्जोय जोनलाई अघि बढाउन लागिएको प्रस्ट पारेका हुन् ।

प्रोजेक्ट बैंकको अभावमा यो वर्ष लगानी सम्मेलन आयोजना गर्न नसकिएको भन्दै उनले लगानी सम्मेलनका लागि पर्यटन पूर्वाधार निर्माणको डिपिआरका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ८ करोड छुट्टयाइएको जानकारी दिए । प्रदेश र निजी क्षेत्रको लगानीमा कुन प्रोजेक्ट हुनसक्छ भनेर सरकारले गृहकार्य गरेको मुख्य मन्त्री गुरुङले बताए ।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका संसदमा उठाएको प्रश्नको जवाफ दिँदै मुख्य मन्त्री गुरुङले भने, ‘पोखरामा पर्यटक आकर्षण बढाउन स्थापना गर्न लागिएको इन्जोय जोनमा नेपालको कानुनले वर्जित गरेका कुरा हुने छैनन् ।’ इन्जोय जोन भन्नेबित्तिकै हामीले नकारात्मक कुरामात्र बुझिरहेको उनले बताए । ‘इन्जोय जोनमा जुवा तास खेल्न पाइँदैन, गाँजा–चरेस खाएरमात्र इन्जोय हुन्छ भन्ने होइन,’ उनले भने, ‘एउटा फ्रेस पर्यटकले जे गर्दा सबै कुरा एकै ठाउँमा पाउन सक्छ, त्यस्तो पार्कको परिकल्पना गरिएको हो, यौन व्यवसायको कुरा छाड्दिनुस्, हामी नाम पनि लिन चाहँदैनौं ।’

पोखरा क्षेत्रमा इन्जोय जोन बनाउने विषयमा अहिले पर्यटन मन्त्रालय लागेको प्रस्ट पार्दै मुख्यमन्त्री गुरुङले पोखराको हल्लन चोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुभिण्डेदेखि मट्टिखानसम्म, ढिकीडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनातालसम्मका ठाउँको अध्ययन गरी लगानीकर्ताहरुलाई पूर्वाधार निर्माणका योजना अघि सार्न लागिएको बताए । ‘फन पार्क बनाउने, आईटि पार्क बनाउने, स्पेसल खालको रेस्टुराँ बनाउनेलाई नै हामीले इन्जोय जोन भनेका हौं,’ उनले भने, ‘इन्टरटेनमेन्ट जोन भन्नुहोस्, रिफ्रेस जोन भन्नुहोस् तपाईले जे जसरी बुझे पनि सबै प्रकारको पर्यटकीय सेवा उपलब्ध गराउने थलोको रुपमा हामीले विकास गर्न खोजेका हौं ।’

होटलमा अन्तर्राष्ट्रियस्तरको आवास व्यवस्था, विभिन्न मुलुकको खानाका लागि रेस्टुराँ, लाइब्रेरी, नेपाली म्युजिक कल्चर, सांस्कृतिक ग्राम, पार्क, केभ, गार्डेन, जिम हल, साहसिक खेल गतिविधि, जल क्रियाकलाप, मेडिटेसन, स्पा, मसाज, पर्यटन सूचना केन्द्रलगायतका सेवा एकै ठाउँबाट दिलाउनु इन्जोय जोनको उद्देश्य भएको मुख्य मन्त्री गुरुङले स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

पोखरामा बन्ने भो ‘इन्जोय जोन’, यौनजन्य गतिविधि पनि खुला

पोखरामा इन्जोय जोनको विरोध, सांसद भन्छन्- सुन्दै अचम्म लाग्यो

 

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु