गृहपृष्ठ जाजरकाेटकाे  नायकबाडा सिँचाइ योजना चालीस वर्षमा पनि अधुरै

जाजरकाेटकाे  नायकबाडा सिँचाइ योजना चालीस वर्षमा पनि अधुरै

बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माण कार्य पञ्चायतकालमै सुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था आउँदा पनि नायकबाडा सिँचाइ योजनाको निर्माण कार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफैं अन्न फलाउने सपना अधुरै छ ।

उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नुपरेको छ । पञ्चायतकालमा निर्माण कार्य सुरु गरेको उक्त योजना हालसम्म पूरा हुन सकेको छैन । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरबाहीले उक्त योजना अलपत्र परेको हो ।

तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमिनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण सुरु भएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माण कार्य सुरु भएको थियो । नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताए ।

तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर निर्माण कार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उनले जानकारी दिइन् । उनले भने, ‘बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाटलगायतका स्थानको २०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो ।’

योजनाको छ किलोमिटर लम्बाइ कुलोमध्ये ६० प्रतिशत ट्र्याक खोल्नेकार्य पूरा भइसकेको छ । कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ । झन्डै ४० वर्षको अवधिमा उक्त योजनामा १२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नं ४ र ५ का बासिन्दाको खेतीयोग्य जमिन बाँझो छ । सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई बर्सेनि खाद्य अभाव हुने गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालयले पनि नायकबाडा सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७३÷७४ देखि हालसम्म एक करोड खर्च गरिसकेको भए पनि कामको उपलब्धि देखिएको छैन । डिभिजन कार्यालयले छ किलोमिटर लम्बाइको कुलो ५ करोड ४८ लाख लागतमा निर्माण गरी १२० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

उक्त कुलो निर्माणका लागि कार्यालयले २ करोड ५९ लाख लागतमा बोलपत्र सम्झौता गरेको समय दुई वर्ष बितिसकेको छ । कार्यालयले कुलो निर्माणका लागि काश्यप निर्माण सेवा एन्ड सप्लायर्ससँग सम्झौता गरेको थियो । कार्यालयले उक्त निर्माण सेवा एन्ड सप्लायर्सलाई ३० लाख पेस्की रकम दिइएको थियो ।

उक्त निर्माण कम्पनीले गत आर्थिक वर्षमा योजनाको बाँधस्थलको कार्य मात्र गरेको छ । त्यस्तै योजनाको उपभोक्ता समितिले गत आर्थिक वर्षसम्म ४५ लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बजेट अभावमा उक्त योजनाको निर्माण कार्यले गति लिन नसकेको कार्यालयका निमित्त डिभिजन प्रमुख रामचन्द्र साहले बताए ।

चालु आर्थिक वर्षमा उक्त सिँचाइ योजनाका लागि ४ करोड ८८ लाख बजेट माग गरेकामा आठ लाख मात्र निकासा आएको प्रमुख साहले जानकारी दिए । चालु आर्थिक वर्षको असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सिँचाइ योजनामा थप बजेट नआउँदा समस्या भएको उनले बताए । हालसम्म योजनाको १२ प्रतिशत मात्र प्रगति भएको उनले जानकारी दिए । (रासस)

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु