गृहपृष्ठ बालबालिकालाई आकर्षण गर्ने शिक्षा आवश्यक : मन्त्री थापा
बालबालिकालाई आकर्षण गर्ने शिक्षा आवश्यक : मन्त्री थापा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा खाजा, खेलकुद तथा मनोरञ्जन र अन्य संरचनाको व्यवस्था गर्नुपर्ने बताइन् ।
शनिबार बागलुङमा नेपाल बाल संगठनद्वारा संरक्षित नेपाल सरकारबाट सञ्चालित बालमन्दिर आधारभूत विद्यालयको निरीक्षणपछि बोल्दै मन्त्री थापाले बालबालिकाको अधिकार स्थानीय तहलाई प्रदान गरेका कारण सबैभन्दा जिम्मेवार स्थानीय तह बन्नुपर्ने बताएकी छन् ।
‘बालबालिकाको विषयमा सबै निकाय गम्भीर छन्,’ मन्त्री थापाले भनिन्, ‘विद्यार्थीलाई भौतिक पूर्वाधार मात्र भएर हुँदैन, गुण्स्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ ।’ बालबालिकालाई विद्यालय जाउँ-जाउँ जस्तो वातावरण तयार गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समन्वयकारी भूमिका खेल्नमा सक्दो पहल गर्ने बताइन् ।
विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न भए पनि गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग गर्नका लागि विद्यालयका प्रधानाध्यापक मिठु पौडेल क्षेत्रीले मन्त्री थापाको ध्यानाकर्षण गराएकी थिइन् ।
मन्त्री थापाले जनशक्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । विद्यालयमा हाल बाल कक्षादेखि कक्षा आठसम्म ११४ जना विद्यार्थी अध्यनरत छन् । विद्यालयमा हाल छ सरकारी दरबन्दी र नेपाल बाल संगठनको निजी स्रोतबाट तीनजना शिक्षक रहेको विद्यालयले जनाएको छ । (रासस)
प्रकाशित समय १५:४८ बजे

















