गृहपृष्ठ नेपालगन्जमा १० हजार रुख रोप्ने तयारी

नेपालगन्जमा १० हजार रुख रोप्ने तयारी

सहरी विकासमन्त्री मोहमद इस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताएका छन् । शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् ।

‘असाध्यै गर्मी हुने नेपालगन्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको यहाँ हरिया रुखहरू नै छैनन्,’ उनले भने, ‘यहाँको गर्मी छल्न १० हजार ठूला रुख रोप्ने योजना बनाएका छौँ ।’ मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिने बताए ।

‘उपमहानगरपालिकाका मेयरसँग छलफल भइरहेको छ,’ उनले भने, ‘अधिकांश ठाउँमा सडक विस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली रहेका ठाउँमा रुख रोप्ने योजना छ ।’ उनका अनुसार बिरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले सम्भवतः केही ठूला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा सहरी विकास मन्त्रालय रहेको छ । (रासस)

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु