गृहपृष्ठ देशका तराई र पश्चिमी क्षेत्रमा हावाहुरीको वितण्डा
देशका तराई र पश्चिमी क्षेत्रमा हावाहुरीको वितण्डा
केही मानिस घाइते, करोडौंको धनमाल क्षति
देशका तराई तथा पश्चिमी क्षेत्रमा हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीबाट बैतडी, दैलेख, पर्सालगायतका जिल्लामा भौतिक संरचना भत्काउँदा मानिस घाइते भएका छन् भने केही मानिस घाइते भएका छन् ।
हावाहुरीले बैतडीमा विद्यालयको छानो उडाएको छ । शनिबार राति आएको हावाहुरीले पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर माविको छानो उडाएको हो । छाना उडाउँदा २ लाख ५० हजारबराबरको धनमाल क्षति भएको विद्यालयले जनाएको छ ।
यस्तै, हावाहुरीले पाटन-८, खोडपेमा रहेको भगवती महिला बहुद्देश्यीय कृषि सहकारी संस्थाको पनि टिनको छाना उडाएको छ । पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हुरीले उडाएको नगरपालिकाले जनाएको छ ।
शनिबार साँझ आएको हावाहुरीले पर्सामा दर्जनौं घरको छानो उडाएको छ भने केही मानिस घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । हावाहुरीले वीरगन्ज महानगरपालिका-१८ बस्ने समसुद्धिन हवारीकी ४ वर्षीया छोरी, वीरगन्ज-२२ बस्ने ४७ वर्षीया मैनु देवीलगायत घाइते भएका हुन् ।
हावाहुरीले वीरगन्ज-२३, सवाठैवामा पनि दर्जनौं घर भत्काएको छ । यस्तै, बहुदरमाई नगरपालिकामा पनि हावाहुरीले क्षति पु-याएको नगरपालिका कार्यालयले जनाएको छ । यसैगरी, पटेर्वा सुगौली गाउँपालिकामा हावाहुरीले एउटा स्कुलको छानो उडाइदिएको छ ।
यसैबीच, हावाहुरीका कारण पोल ढलेपछि दैलेखका तीन दिनदेखि विद्युत आपूर्ति बन्द छ । हावाहुरीले सुर्खेतको गरगरेमा ६ वटा पोल ढालेपछि दैलेखमा विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखका प्रमखु धीरेन्द्र बजगाईंका अनुसार ढलेको पोल बनाइसकेकाले रातानाङ्लासम्म विद्युत आपूर्ति सुरु भइसकेको छ । दैलेखका छिट्टै विद्युत जोडिने उनले जानकारी दिए । विद्युत अभावमा सरकारी कार्यालय, पसल, रेडियो तथा स्थानीय पत्रपत्रिका बन्द भएका छन् ।
यसैबीच, कैलालीमा बिहीबार आएको हावाहुरीबाट दुई जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका छन् । हावाहुरीबाट २ हजार २ सय १६ घरमा क्षति पु-याएको छ । तर, सरकारले उद्धार तथा राहतका लागि आवश्यक तदारुकता नदेखाएको पीडितले गुनासो गरेका छन् ।
चार दिनदेखि राहत नपाउँदा पीडितको विचल्ली भएको छ । घरको छाना उडेका पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य छन् । हुरीले कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा बढी क्षति पु-याएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी, हावाहुरीका कारण कञ्चनपुरका विद्युत संरचनामा व्यापक क्षति पुगेको छ । हावाहुरीले विद्युत संरचनामा ७५ लाखभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।
प्रसारणलाइनका पोल ढालेको, टुटेको, तार चुँडाएको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको हो । हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १७४ पोल ढलेका र टुटेका छन् । त्यस्तै, भीमदत्त नगरपालिकामा १००, बेलौरी वितरण केन्द्रअन्तर्गतका स्थानमा १५०, शुक्लाफाँटामा ३५ र वेदकोट नगरपालिकामा ३० वटा पोल ढलेका छन् ।
प्रकाशित समय ११:०७ बजे

















