गृहपृष्ठ अख्तियारद्वारा एकै महिनामा १४ जनाविरुद्ध मुद्दा दायर, २६ लाख १६ हजार बिगो रकम दाबी

अख्तियारद्वारा एकै महिनामा १४ जनाविरुद्ध मुद्दा दायर, २६ लाख १६ हजार बिगो रकम दाबी

akhtiyar-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा मात्रै १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध २६ लाख १६ हजार २ सय रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेलाई सेवाग्राहीको काम गरिदिएबापत गैरकानुनी रुपमा अतिरिक्त रकम माग गरेको अभियोगमा ५ हजार बिगो रकमसहित अख्तियारले मुद्दा चलाएको छ ।

काभ्रेको पाँचखल नगरपालिका तामाघाटस्थित मसला बाली विकास केन्द्रको स्वमित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएकोमा वर्षौंदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना जस्ता भ्रष्टाचार गरेको हुँदा सञ्चालक समितिका अध्यक्षसहित तीन जनालाई १४ लाख ३८ हजार ५ सय रुपैयाँ बिगो रकम दाबी गरी अख्तियारले मुद्दा दायर गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सब–इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध कार्य क्षेत्रभित्रको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत अतिरिक्त रकम लिएको अभियोगमा १ लाख ५० हजार बिगो रकम कायम गरी मद्दा दायर भएको छ ।

रुपन्देही खड्वा बनगाईस्थित कित्ता नम्बर ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्तिको नाम दर्ता गरेको भन्दै अख्तियारले नापी अधिकृत घनश्याम दुबेसहित तीन जनाविरुद्ध मुद्दा चलाएको छ । अधिकृत घनश्याम दुबे र सर्वेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतापूर्वक सार्वजनिक सम्पति हानीनोक्सानी हुने र व्यक्तिलाई गैरकानुनी फाइदा पु-याउने कार्य गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

जग्गाधनी मुना पसिनाले नापी कार्यालय भैरहवाका कर्मचारीलाई अनुचित प्रभावमा पारी जग्गा आफ्नो नाममा गरी भ्रष्टाचार गरेको खुलेको छ । अख्तियारले तीन जनालाई नै ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा  मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महत्तो कोइरीविरुद्ध लालपुर्जामा नाम संशोधन सेवाबापत सेवाग्राहीबाट रकम लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको छ । अख्तियारले उनीहरुबाट ११ हजार रुपैयाँ बिगो रकम दाबी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण सर्लाही बरहथवामा कार्यरत इलिक्ट्रिसियन मनोजकुमार पाण्डेले विद्युत मिटरको क्षमता वृद्धि गर्न सेवाग्राहीसँग अतिरिक्त रकम लिएको अभियोगमा ८ हजार रुपैयाँ बिगो रकम कायम गरी अदालतमा मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत हबल्दार शान्ति भण्डारीले नियन्त्रणमा लिइएको व्यक्ति छुटाइदिएबापत सेवाग्राहीसँग रकम माग गरेको पुष्टि भएको भन्दै अख्तियारले १० हजार बिगो कायम गरी मुद्दा चलाएको छ ।

रुपन्देही जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापाले सेवाग्राहीसँग रकम लिएको भन्ने खुल्न आएकोले जनही ५ हजार बिगो रकम दाबी गरी अदालतमा मुद्दा दायर भएको छ ।

माघमा १५ जना अख्तिायरको नियन्त्रणमा

माघमा अख्तियारले आर्थिक अपचलनको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई ३ लाख ९० हजार ८५० रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा कार्यारत नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ र लेखापढी रमेशलाल श्रेष्ठ सेवाग्राहीको जग्गा मिलाउन भन्दै अतिरिक्त ४० हजार रकम लिएको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई अख्तियारले माघ ६ गते नियन्त्रणमा लिएको हो । त्यस्तै रुपन्देही जिल्ला अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापाविरुद्ध ५ हजार रकमसहित अख्तियारले नियन्त्रणमा लिइ मुद्दा दायर गरिसकेको छ ।

माघ १३ गते यातायात व्यवस्था कार्यालय जनकपुरधाममा भएको ‘स्काभेटर र लोडर’को लाइसेन्स वितरण गर्ने क्रममा कार्यालयका कार्यालय सहयोगीसहित दुई जनालाई परीक्षार्थीबाट रकम उठाइरहेका बेला अख्तियारले पक्राउ गरेको छ । उनीहरुलाई २ लाख ७३ हजार ८५० घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

राष्ट्रिय किताबखाना छाउनीमा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेलाई अवकासपश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेका बेला अख्तियारले नियन्त्रणमा लिएको छ । उनले सेवाग्राहीबाट ५२ हजार घुस रकम लिएको खुल्न आएकाले नियन्त्रणमा लिइएको अख्तियारको दाबी छ  ।

नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र धनुसामा कार्यारत पाँचौँ तहका सुभरभाइजर जगतनारायण शाह, तेस्रो तहका इलिक्ट्रिसियन यमकुमार महत्तो, ज्यालादारी प्राविधिको रुपमा कार्य गर्ने नवलकिशोर रावत र दोस्रो तहका मनोहकुमार महत्तोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग ५ हजार घुस लिएको सूचनाको आधारमा नियन्त्रणमा लिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प महोत्तरीमा कार्यारत सशस्त्र प्रहरी बरिष्ठ हबल्दार श्रवण बस्नेतले घरयासी प्रयोगको लागि काठदाउरा लैजान सहजीकरण गरिदिएबापत् १५ हजार रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

नापी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यारत निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुणकुमार यादवमार्फत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको छ । दुबैले सेवाग्राहीबाट १५ हजार रकम लिइसकेको अवस्थामा अख्तियारले प्रक्राउ गरेको हो ।

अख्तियारले पुसमा भ्रष्टाचार आरोपमा पक्राउ परेका ४९ जनाविरुद्ध ९ करोड २४ लाख १५ हजार ८९७ रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

अख्तियारमा चालू आर्थिक वर्ष ०७७/७८ को माघसम्म ७ हजार ६०५ अनलाइन उजुरी परेका छन् । माघमा मात्रै ७६० उजुरी परेको अख्तियारको तथ्यांकले देखाउँछ । माघमा सबैभन्दा बढी लिखित २६० उजुरी परेका छन् । त्यस्तै हुलाकबाट १५४, इमेलबाट १३४, वेबसाइटबाट ११३, टेलिफोनबाट ६०, फेसबुकबाट २०, मोबाइल एपबाट १६ र अन्य माध्यमबाट २ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

माघ महिनामा परेका ५६० उजुरीहरुमध्ये अख्तियारको प्रधान कार्यालयबाट सबैभन्दा बढी ५०० उजुरी आएका छन् । त्यस्तै इटहरी कार्यालयबाट ६०, कञ्चनपुर कार्यालयबाट ४२, सुर्खेत कार्यालबाट ५०, बुटवल कार्यालयबाट ४१, पोखरा कार्यालयबाट २६ र  हेटौँडा कार्यालायबाट ४१ वटा उजुरी आएका छन् ।

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु