गृहपृष्ठ मेक्सिकोसँग करवृद्धिमा नरम बन्दै अमेरिका
मेक्सिकोसँग करवृद्धिमा नरम बन्दै अमेरिका
-आप्रवासीको सम्बन्धमा कडा बन्दै आएको अमेरिकाले आफ्नो देशमा मात्र नभएर छिमेकी मुलकको सीमा क्षेत्रमा समेत कडाइ गर्न आग्रह गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी देश मेक्सिकोलाई समेत आप्रावासी मामलामा कडाइ गर्न भनेका छन् । जसमा मेक्सिकोले पनि सहमति जनाइसकेको छ ।
मेक्सिकोले आफ्नो प्रस्ताव मानेसँगै अमेरिकाले पनि कर वृद्धि गर्ने योजनालाई रोक्ने जानकारी दिएको छ । मेक्सिकोले पनि अमेरिकाले लिएको शरणार्थी नीति सहयोगका लागि आफूमाथिको कर वृद्धि खुकुलो बनाउन आग्रह गर्दै आएको छ । वार्तामा दुवै देशले व्यावहारिक रुपमा आप्रवासी नियन्त्रणसम्बन्धी विषयलाई कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएका छन् ।
वार्ताबाट ट्रम्प पनि उत्साहित देखिएका छन् । वार्तापश्चात् उनले ट्विट गरेका छन्, ‘सम्झौतालाई कार्यान्वयनमा लान मेक्सिकोको पहल सफल भएमा दुबै देशका लागि सम्झौता कोसेढुंगा हुनेछ ।’ शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले आप्रवासीलाई हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट फर्काउने विषयलाई स्वीकार गरेको थियो भने अमेरिकाले यसअघि नै अमेरिका पुगेर शरणार्थीका लागि दाबी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउन सहमति जनाएको थियो ।
अमेरिकाले मेक्सिकोसँग सहमति नगरेको भए अमेरिका भित्रिने सामान पाँचदेखि २५ प्रतिशतसम्म कर वृद्धि हुँदै थियो । मेक्सिकोबाट हरेक वर्ष तीन अर्ब ५० करोड अमेरिकी डलरबराबरको सामान अमेरिका भित्रिन्छ ।
ह्वाइट हाउस प्रवेशसँगै ट्रम्पले विभिन्न मुलुकसँग कर वृद्धिको विषयलाई बार्गेनिङको अस्त्र बनाउँदै आएका छन् । जसले गर्दा विभिन्न देशसँग वैरभावको स्थिति सिर्जना हुनुका साथै व्यापार युद्धसमेत चल्ने गरेको छ ।
प्रकाशित समय ११:३३ बजे

















