गृहपृष्ठ संयोजक नआउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित
संयोजक नआउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्यांक संकलन हुन सकेको छैन ।
सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिँदा बेरोजगार युवाको तथ्यांक संकलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्यांक संकलन हुन सकेको छैन ।
जिल्लाका अन्य स्थानीय तहमा रोजगार सेवा केन्द्रले बेरोजगार युवाको तथ्यांक वडा–वडाबाटै संकलन गरिसकेको भए पनि व्यास नगरपालिकामा भने तथ्यांक संकलन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार मन्त्रालयले रोजगार सेवा केन्द्र प्रमुख नपठाइ दिएकाले तथ्यांक संकलनको कार्यलाई अगाडि बढाउन सकिएको छैन ।
सूचना अधिकारी वाग्लेले भने, ‘यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, छिटो मान्छे पठाइदिए कामलाई तीव्रता दिन सजिलो हुन्थ्यो ।’ तथ्यांक संकलनपछि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा बेरोजगारलाई खटाउने तयारी गरिए पनि तथ्यांक संकलनको काम नै सुरु नहुँदा चालु आर्थिक वर्षमा प्राप्त बजेट नै फ्रिज हुने हो कि भन्ने आशंका उत्पन्न भएको वाग्लेले बताए ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा ५ लाख ७५ हजार बजेट प्राप्त भएको छ । बजेट फ्रिज हुने सम्भावना भएपछि नगर कार्यपालिकाकाको केही दिनअघि बसेको बैठकले वडा सचिवमार्फत नै तथ्यांक संकलनको कामलाई अगाडि बढाउने निर्णय गरेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रोजगार संयोजक नियुक्ति नहुँदा काममा देखिएको ढिलाइले यहाँका युवा प्रभावित भएको उल्लेख गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि प्रायः सधैँ नै युवा वडा कार्यालयमा आउने गरेको जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा लोकनाथ भुसालले व्यास नगरपालिकामा नियुक्त भएको रोजगार संयोजकले राजीनामा दिएका कारण केही ढिलाइ हुन गएको बताउँदै वैकल्पिकमा रहेका सुजिता थापालाई रोजगार संयोजकका रुपमा खटाइसकिएको जानकारी दिए । मन्त्रालयले जेठ २० गते थापालाई सम्झौता गरी व्यास नगरपालिकामा खटाइसकेकाले एक–दुई दिनभित्रै हाजिरी भएर उनले काम सुरु गर्ने डा. भुसालले जानकारी दिए । (रासस)
प्रकाशित समय १४:१९ बजे

















