गृहपृष्ठ मोरङमा ३५ ट्राफिक प्रहरीको दरबन्दी, ८० जना कार्यरत
मोरङमा ३५ ट्राफिक प्रहरीको दरबन्दी, ८० जना कार्यरत
प्रदेश १ को राजधानी विराटनगर र एउटा महानगरपालिकासहित १७ स्थानीय तह रहेको मोरङ जिल्लामा ३५ जना मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । जिल्लामा एक प्रहरी निरीक्षकसहित, २ प्रहरी नायब निरीक्षक, ३ प्रहरी सहायक निरीक्षक, ६ प्रहरी हवल्दार, २२ प्रहरी जवान र १ प्रहरी परिचर गरी ३५ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।
हाल जिल्ला ट्राफिक प्रहरी कार्यालयमातहतमा ८० जना ट्राफिक प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरमा प्रहरी निरीक्षकको कमान्डमा ३३ जना, ट्राफिक प्रहरी कार्यालय पथरीमा प्रहरी नायब निरीक्षकको कमान्डमा ५ जना, ट्राफिक प्रहरी पोस्ट उर्लाबारीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ३ जना र ट्राफिक प्रहरी पोस्ट बेलबारीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना कार्यरत छन् ।
त्यसैगरी, ट्राफिक प्रहरी पोस्ट कर्सियामा ३, ट्राफिक प्रहरी पोस्ट गोठगाउँमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४, ट्राफिक प्रहरी पोस्ट रंगेलीमा प्रहरी हवल्दारको कमान्डमा २, ट्राफिक प्रहरी पोस्ट सिजुवामा प्रहरी हवल्दारको कमान्डमा ३, ट्राफिक प्रहरी पोस्ट हाटखोला विराटनगरमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना कार्यत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै ट्राफिक प्रहरी पोस्ट रानीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ५, ट्राफिक प्रहरी पोस्ट नेमुवामा प्रहरी सहायक निरीक्षकको कमान्डमा ३, ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकमा प्रहरी सहायक निरीक्षकको कमान्डमा २, ट्राफिक प्रहरी पोस्ट लेटाङमा १ प्रहरी जवान, ट्राफिक प्रहरी पोस्ट हरैँचामा प्रहरी सहायक निरीक्षकको कमान्डमा २, ट्राफिक प्रहरी पोस्ट विराटचोकमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ र ट्राफिक प्रहरी पोस्ट मधुमल्लामा १ जना प्रहरी जवान जनशक्ति कार्यरत रहेको प्रमुख प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए । दरबन्दीबाहेकका अन्य ट्राफिक प्रहरी काजमै कार्यरत रहेको उनले बताए ।
थोरै जनशक्तिले ट्राफिक व्यवस्थापनमा समस्या
प्रदेश १ को राजधानी भएसँगै मोरङमा सवारी साधनको चाप अत्यधिक बढेकाले जनशक्ति अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको प्रमुख प्रहरी निरीक्षक पोखरेलले बताए । ‘अहिले राजधानी भएयता सवारी साधनको चाप एकदमै बढेको छ । यो औद्योगिक क्षेत्र पनि हो । एकदमै चाप छ । बाटो बिग्रिएको छ । बनेका पनि चल्न योग्य छैनन्,’ उनले भने, ‘ट्राफिकको माग बढी छ । दुर्घटना र जाम निकै हुन्छ । गाडीहरु पास गराउनुपर्ने हुन्छ, एकदमै समस्या भइरहेको छ । काजमा जनशक्ति राखेर काम भइरहेको छ ।’
प्रमुख प्रहरी निरीक्षक पोखरेलले जिल्लााका सबै चोकमा ट्राफिकको माग रहे पनि जनशक्ति अभावमा खटाउन नसकिएको बताए । उनले जनशक्तिकै अभावमा ट्राफिक व्यवस्थापन सन्तोषजनक हुन नसकेको उनको भनाइ छ ।
प्रकाशित समय १४:४१ बजे

















