गृहपृष्ठ बागलुङमा व्यावसायिक खरायोपालन
बागलुङमा व्यावसायिक खरायोपालन
बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिक रुपमा खरायोपालन सुरु गरेका छन् । शर्माले चार महिनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङखानीबाट ल्याएका हुन् । ‘दुईवटाबाट सुरु गरेको खरायोपालन अहिले २५ वटा पुर्याएको छु,’ शर्माले भने ।
व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाख रुपैयाँको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको संख्या वृद्धि गर्ने योजना रहेको सुनाए । ‘हालसम्म तीन जोडी खरायो बेचें,’ शर्माले भने, ‘एक सय पुर्याएर मात्र अब बेच्ने योजना छ ।’ खरायो शाकाहारी भएकाले पालन खर्च धेरै लाग्दैन ।
हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोडी खरायोलाई एक हजार रुपैयाँ पर्छ । ‘एक सय पुर्याएपछि मासुका लागि बेच्ने योजनामा छु,’ शर्माले भने । अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकाले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए ।
करिब ५–६ महिना उमेर पुगेपछि पोथी खरायो वयष्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउँछ । फेरि त्यसको १२–१५ दिनमै पुनः गर्भधारण गर्छ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महिनामै मासुका लागि योग्य हुन्छ । खरायो पाल्न त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो । (रासस)
प्रकाशित समय १५:०३ बजे

















