गृहपृष्ठ भक्तपुर अस्पतालका सबै सेवा ठप्प

भक्तपुर अस्पतालका सबै सेवा ठप्प

वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्रांगणमा धर्ना दिएर बसेका छन् । सधैँ भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एक सातादेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि बुधबारदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो ।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेका कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गरेको आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताए । उनले मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौंदेखि खाइपाई आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटिदिएकाले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ति नवीकरण नगर्ने भएकाले उनीहरुको पुनर्बहालीको समेत माग गरेको उनले बताए ।

मेसुले अस्पतालका कर्मचारीहरु दास भएको भन्दै कर्मचारीलाई मानवीय व्यवहारसमेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ । करारमा रहेका कर्मचारीलाई निष्कासन गरी आफ्ना आफन्त सातजनालाई नर्स र फार्मेसीमा नियुक्ति गर्नुका साथै मेसु देवकोटोले १७ हजार ५ सय रुपैयाँ तलबमा आफ्ना निजी भान्छेसमेत नियुक्ति गरेको संठनका सचिव सुनिता श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रा सेवा सुविधा कटौती गर्ने अनि यसअघिका कुनै पनि मेसुले नराखेको भान्छे डा. सुधाले निजी रूपमा राख्नुभएको छ, उहाँले अस्पताल प्रशासनको दुरुपयोग गर्दै आउनुभएको छ ।’

अस्पतालको ‘रिसेप्सन’ मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भए पनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृत रूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।

आन्दोलनबारे विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले भनिन्, ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदै छ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ ।’ उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउन्टरको साँचोसमेत नदिँदा टिकट काट्नसमेत नपाएको बताइन् । (रासस)

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु