गृहपृष्ठ जनकपुरमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, ३ होटल जलेर नष्ट

जनकपुरमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, ३ होटल जलेर नष्ट

जनकपुरस्थित गोविन्द मिष्ठान भण्डारमा  आगलागी हुँदा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटपछि आगलागीले थप २ होटल पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका– २, कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार, सियाराम मिष्ठान्न र अर्को एक होटल आगलागीले नष्ट भएको हो । बिहीबार बिहान करिब ३ बजे सुरू भएको आगलागी बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । एउटा ग्यास सिलिण्डर विस्फोट भएपछि स्थानीय बिउझिएका थिए । विस्फोटपछि आगो फैलदाँ थप ग्यास सिलिण्डरसमेत विस्फोट भएको बताइएको छ ।

होटलका कामदारले आगलागी सुरु हुनासाथ प्रहरीमा खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय र तीन दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको प्रहरीको प्रारम्भीक अनुमान छ । प्रहरीले क्षतिको विवरण संकलन गर्दैछ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु