गृहपृष्ठ सर्लाहीमा गोली चल्यो, विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

सर्लाहीमा गोली चल्यो, विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

kumar paudel

सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेक्र वित्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन् ।

प्रहरीका अनुसार लालबन्दी नगरपालिका १ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएको हो । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको थियो ।

दुइटा मोटरसाइकलमा रहेका उनीहरूले गोली फायर गर्दै जंगल पस्ने क्रममा जवाही फायर हुँदा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय पौडेलको घटनास्थलमै मृत्यु भएको छ। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको छ ।

विप्लवका कार्यकर्ताहरूले गतिविधि गरिरहेको सूचनाका आधारमा त्यहाँ दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो । घटनास्थलमा विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ र अर्को अनटेस्ट मोटरसाइकल भेटिएको छ। घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ।

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु