गृहपृष्ठ गुठी विधेयक फिर्ता भयो, मिडिया विधेयक पनि संशोधन हुन्छ : प्रचण्ड
गुठी विधेयक फिर्ता भयो, मिडिया विधेयक पनि संशोधन हुन्छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्यबिना ल्याएको गुठी विधेयक सरकारले फिर्ता गरेको बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरोकारवाला निकायसँग पर्याप्त छलफलबिना आएको गुठी विधेयक सरकारले समयमै जनताको सेन्टिमेन्ट बुझेर फिर्ता गरेको बताएका हुन् ।
उनले भने, ‘गुठी विधेयकको विषयमा सबैलाई समयमै बुझाउने कुरामा केही कमी रह्यो, विधेयकभित्र यथार्थमा के चाहिँ चिज छ भन्नेभन्दा पनि एउटा सेन्टिमेन्ट जस्तो आउने र सेन्टिमेन्टमा कुद्ने स्थिति बन्यो, अर्कोतर्फ विधेयक निर्माणको क्रममा सरोकार निकायसँग सल्लाह गरेर उनीहरुको राय सुझाव लिएर पार्टी र सरकारभित्र पनि पर्याप्त गृहकार्य गरेर विधेयक ल्याउनुपर्नेमा अपुग पनि देखियो ।’ केही गुठीहरु जनता र कृषकको हितमा नभएकाले अब गुठी विधेयक नयाँ सिराबाट ल्याउनुपर्ने उनले बताए । पेलेर जाने भन्ने कम्युनिस्ट सरकारको नीति नभएको भन्दै उनले मिडिया काउन्सिल विधेयक पनि संशोधन हुनुपर्नेमा जोड दिए ।
पार्टी सञ्चालन र सरकार सञ्चालनका बारेमा पनि आफूले बोल्नुभन्दा पहिला बाहिर आइरहेको भन्दै अध्यक्ष प्रचण्डले कसैले खोलिरहेको आरोप लगाए । ‘पहिला मैले आलोपालो भने पनि पाँचै वर्ष भन्ने कुरा पनि सत्य होइन, हिजो जेसुकै सहमति भएको भए पनि अब बदलिएको नयाँ परिस्थितिमा सहमतिले पाँचै वर्ष सरकार जान्छ, जान सक्छ भन्न्ने कुरा पनि त्यही बेला भनेको छु,’ उनले भने ।
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगको उनले बताए । ‘केन्द्रीय समितिको कार्यविभाजन, आयोगहरु, केन्द्रीय संरचनाहरु बाँकी रहेका बनाउने अन्तिम चरणमा छ, हिजो मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ, अब ठूलै धक्का दिएर सबै टुंगाउने गरी जाने भन्ने कुरा भएको छ,’ उनले भने । पोखराबाट फर्किएलगत्तै छलफल गरी पर्सि सचिवालयमा बसेर यसलाई समापन गर्नेतर्फ आफूहरु लाग्ने उनले बताए ।
प्रकाशित समय १८:१३ बजे

















