गृहपृष्ठ सरसफाइ कर्मचारी काममा फर्कन तयार

सरसफाइ कर्मचारी काममा फर्कन तयार

राजविराज नगरपालिकाका सरसफाइ कर्मचारी शुक्रबारदेखि काममा फर्कने भएका छन् । नगरपालिकाकाका तर्फबाट नगरप्रमुख शम्भुप्रसाद यादव र प्रशासकीय अधिकृत श्यामप्रसाद सिंह तथा मजदुरको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव र अखिल नेपाल सरसफाइ मजदुर संघका एकाइ अध्यक्ष अजयकुमार मेहतरसहितका सरसफाइकर्मीबीच बिहीबार भएको छलफलपछि कर्मचारी काममा फर्कन तयार भएका हुन् । शुक्रबारदेखि नगरको फोहर उठ्ने नगरप्रमुख यादवले विश्वास व्यक्त गरे ।

सहमतिअनुसार नगरपालिकाले सरसफाइ कर्मचारीलाई सम्बन्धित वडामा पत्रसहित पठाउने र कामका बेला मास्क, पन्जा, गमबुट उपलब्ध गराउनेछ । श्रम ऐन, २०७४ र सामाजिक सुरक्षाकोष ऐन, २०७४ अनुसार मजदुरले पाउने सेवा सुविधालाई प्रक्रियामा लैजानसमेत नगरपालिका प्रमुख यादवले प्रतिबद्धता जनाएका छन् ।

केही माग सम्बोधन भएको र केहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि काममा फर्कन सहमत भएको अखिल नेपाल सरसफाइ मजदुर संघका अध्यक्ष अजयकुमार मेहतरले बताए । मेहतरका अनुसार सहमति कार्यान्वयनका लागि आगामी आइतबार भने ज्ञापनपत्र बुझाइनेछ ।

नगरपालिकाले वडा कार्यालयको मातहतमा रहेर सोही वडाको फोहर व्यवस्थापनकार्य गर्न मौखिक आदेश दिएपछि सरसफाइ कर्मचारीले नियुक्तिपत्र माग्दै तीन दिनदेखि फोहर संकलनकार्य छाडी हडतालमा उत्रिएका थिए । राजविराजमा तीन दिनयता फोहर नउठ्दा सडक र बजारमा फोहरको डंगुर थुप्रिएको थियो । तीन दिनदेखि नै निरन्तर वर्षा भएपछि थुप्रिएका फोहर सडकभरि नै फैलिँदा पैदलयात्री, साइकलयात्री र सवारी साधन चलाउनसमेत समस्या देखिएको छ ।

सडक, बजारसँगै फोहर लिन कर्मचारी टोलबस्तीमा नपुगेपछि घरघरमा फोहर थुप्रिएको राजविराज–५ की सोनी मिश्रले बताए । (रासस)

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु