गृहपृष्ठ निकुञ्जको सर्च अभियान सम्पन्न, पासो बरामद

निकुञ्जको सर्च अभियान सम्पन्न, पासो बरामद

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जंगलको सर्च अभियान सम्पन्न गरेको छ ।

महाहन्ट अप्रेसनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारे जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको बताइन् ।

निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजंग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जंगल इलाकाको सर्च अभियानकोे क्रममा भेटिएका जनावरमध्ये दुई घाइते जनावरको उद्धार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको समेत प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिइन् ।

सडक सञ्जाल जोडिएका क्षेत्रमा विसं २०७२ को भूकम्पपछि खाना पकाउने प्रयोजनका लागि अधिकांश निकुञ्जवासीले ग्यास प्रयोग गर्न थालेका र दाउरा प्रयोग गर्नेले पनि खेतबारीका आफ्ना स्वामित्व क्षेत्रको खाली जमिनमा बोटबिरुवा लगाउने बानीको विकास भएका कारण वन पैदावारको व्ययभार घट्दै गएको बताइएको छ ।

हिमाली क्षेत्रको भ्रमण गर्न आउने पर्यटकले अनुमतिबेगर ल्याएका १२ ड्रोन क्यामरामा छायांकन गरिएका श्रव्यदृश्यको मेमोरी बरामद गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आफ्नो कार्यालय र सुरक्षाका लागि खटिएका नेपाली सेना कालिजंग गणले गरेका संरक्षणका कार्य प्रगति आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले पत्रकारमाझ जानकारी गराउने कामसमेत सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाअन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौंडागौंडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको बताइएको छ । रसुवा धुन्चेमा रहेको हेडक्र्वाटरले तीनै जिल्लाको आफ्नो आधार इलाका क्षेत्रमा रेखदेख गरी आवश्यक्ताअनुसार गाउँठाउँमा रहेका चौकीबाट यथेष्ट सुरक्षा बल व्यवस्थापन गरिएको बताउँदै निकुञ्ज प्राविधिक रमेश बस्नेतले वन, वनस्पति एवं वन्यजन्तुका साथै जैविक विविधता हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सम्पूर्ण निकुञ्जवासीमा आग्रह गरिएको बताए । (रासस)

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु