गृहपृष्ठ साझाले थप्दै २० नयाँ बस
साझाले थप्दै २० नयाँ बस
साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० वटा बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको हो ।
यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार बसको रुट परमिट लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने अनुमति पाएको पाण्डेले जानकारी दिए ।
नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्ग तय भएको बताइएको छ । विसं २०१६ मा स्थापित यो संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः सुरु भएको थियो ।
अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपांगता र ज्येष्ठ नागरिक लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेको संस्थाले जनाएको छ ।(रासस)
प्रकाशित समय ०८:४६ बजे

















