गृहपृष्ठ सरकारी गाडीको दुरुपयोग बढेकोप्रति मन्त्री पण्डितको आपत्ति
सरकारी गाडीको दुरुपयोग बढेकोप्रति मन्त्री पण्डितको आपत्ति
ई-ट्रान्सपोर्टेसन सर्भिस सञ्चालन
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजी क्षेत्र र सरकारको समन्वयात्मक भूमिकाबाट मात्रै मुलुक समृद्धि हासिल हुने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा ट्रान्सपोर्टेसन सर्भिसको सोमबार वेबसाइट उद्घाटन गर्दै मन्त्री पण्डितले सरकार छिट्टै नै ई-गभरर्नेन्स प्रणालीमा जाने बताएका हुन् । उनले सरकारले मन्त्रिपरिषदलाई पेपरमुक्त गरेसँगै डिजिटल प्रविधितर्फ उन्मुख हुँदै गएको उल्लेख गरे ।
‘ढुवानी प्रणाली मनमौजी रुपमा हुने गरेको छ,’ उनले भने, ‘यस्ता ई–सेवाबाट ढुवानीलाई पारदर्शी बनाउन सकिन्छ ।’ यस्ता कार्यमा सरकारको साथ र सहयोग रहने उनले जनाए । सरकारी गाडीको दुरुपयोग बढेकोमा मन्त्री पण्डितले आपत्ति जनाए । उनले सरकारी गाडीमा समेत सरकारले जिपिएस सिस्टम जडान गरेर दुरुपयोग नियन्त्रण गर्ने बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने ई–ट्रान्सपोर्टेसन सर्भिसको थालनी सराहनीय भएको भन्दै यस्ता सेवाले नेपालका ७७ वटै जिल्लालाई समेट्नुपर्ने धारणा राखेका छन् । उनी भन्छन्, ‘तत्कालका लागि चुनौतीपूर्ण रहे पनि दीर्घकालमा फाइदा पुग्नेछ ।’
ई–ट्रान्सपोर्टेसन सर्भिसले नेपालभर नेपाललेट्स एपबाट सजिलैसँग सामान ढुवानी गर्नेछ । त्यसका साथै निजी गाडी तथा यात्रुवाहक सवारी साधन जुनसुकै स्थानमा बिग्रिए पनि यस एपको मार्फतबाट सोही स्थानमा मर्मत सुविधा दिने जनाएको छ ।
प्रकाशित समय १७:४३ बजे

















