गृहपृष्ठ सरकारी कर्मचारीलाई विदा बस्न रोक

सरकारी कर्मचारीलाई विदा बस्न रोक

कोलेनिकाका कर्मचारीलाई असारभर जिल्ला नछाड्न उर्दी

Karmachari_NewsKarobar

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार विकास खर्च नसकिएपछि सरकारले असार लागेपछि कर्मचारीहरूलाई विदा बस्नमा रोक लगाएको छ । स्वीकृत वार्षिक कार्यक्रम, योजना र आयोजना तोकिएबमोजिम सम्पन्न गर्नका लागि आवश्यक कर्मचारीको निर्वाध उपस्थित गराउनु आवश्यक परेको भन्दै कार्यालयाको काममा बाधा पुग्ने वा लक्ष्य प्राप्तिमा बाधा हुने गरी कर्मचारीको विदा स्वीकृतिमा रोक लगाइएको हो ।

‘चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कामहरूको हालसम्मको प्रगति लक्ष्यभन्दा कम भए पनि आर्थिक वर्षको बाँकी अवधिको पूर्ण उपयोग गर्दै लक्षित उपलब्धि हासिल गर्नैपर्ने अवस्था छ,’ मुख्य सचिव लोकदर्शन रेग्मीले हालै सरकारका सबै मन्त्रालय र निकायहरूलाई परिपत्र गर्दै भनेका छन् । मुख्य सचिवले कार्यालय र आयोजनामा कार्यरत कर्मचारीलाई वार्षिक कार्यक्रमको लक्ष्य हासिल गर्ने कामका बाहेक अन्य अवस्थामा काजमा नखटाउन, आर्थिक वर्षको बाँकी अवधिमा अत्यावश्यक अवस्थमा बाहेक कर्मचारी सरुवा नगर्न र केन्द्रीय निकायमा काजमा नराख्नसमेत निर्देशन दिएका छन् ।

आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि गोष्ठी–सेमिनार गर्ने परम्परालाई रोक्नसमेत मुख्य सचिव रेग्मीले निर्देशन दिएका छन् । पत्रमा स्वीकृत वार्षिक कार्यत्रममा परेको बाहेक यस अवधिमा कार्यशाला, सेमिनार, गोष्ठी आयोजना नगर्न र त्यस्तोमा कर्मचारी नपठाउन कडा निर्देशन दिइएको छ ।

यसैबीच, महालेखा नियन्त्रकको कार्यालयले देशैभरिका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)का अधिकारीहरूलाई आर्थिक वर्ष नसकिन्जेलसम्म जिल्ला नछाड्न उर्दी जारी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले कोलेनिका प्रमुखहरूलाई जिल्लामै रहन र अन्य निकायको कार्यक्रममा सहभागी हुनका लागि भनेरसमेत जिल्ला नछाड्न निर्देशन दिएको छ ।Letter_NewsKarobar

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु