गृहपृष्ठ हप्ता दिनदेखि उठेन राजधानीको फोहोर, दुर्गन्ध फैलँदै

हप्ता दिनदेखि उठेन राजधानीको फोहोर, दुर्गन्ध फैलँदै

fohor sankanal-newskarobar फाइल तस्बिर

उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगे पनि हप्ता दिनदेखि फोहोर नउठ्दा दुर्गन्धित बनेको छ । फोहोर नउठ्दा राजधानीका चोक-चोकमा थुप्रो जम्मा भएको छ ।

वर्षायाम भएकाले फोहोरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी गाउँपालिका-२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्यान्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलबासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन् । ‘ल्यान्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो । राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहोर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठले गुनासो गरे ।

पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौं महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने अवस्था बनेको उनको आक्रोश छ । केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ ।

‘ल्यान्डफिल्ड साइड’मा पूर्वाधार निर्माणको जिम्मेवारी भने सहरी विकास मन्त्रालयलाई दिइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ । सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहोर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ ।

बागमती सफाइ ३२० हप्तामा

बागमती सफाइ महाअभियानको ३२०औँ हप्तामा शंखमूल पुलमुनिको नदी किनारमा सफाइ गरी चार टन फोहोर व्यवस्थापन गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो । बागमती सफाइ सकिएपछि नदी किनारमै असार १५ गतेको सम्झनामा दही चिउरा खाएर सांस्कृतिक पर्व मनाइएको थियो ।

गुह्येश्वरीमाथिको बागमती सफाइको २८२औँ हप्तामा आज माकलबारी टोल क्षेत्रमा सफाइ गरियो । फोहोर बोक्ने सवारी नआउने भएकाले नदी किनारको झार उखेलेर सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए । सफाइमा बागमती सुन्दरता सरोकार मञ्च, माकालबारी टोल सुधार समिति, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत संस्थाका गरी १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । घरबाट निस्कने फोहोर व्यवस्थापन नगर्नेलाई यस क्षेत्रको सफाइमा नआउन मञ्चले आह्वान गर्दै आएको छ ।

रुद्रमती सफाइ अभियानको २७४औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा उम्रिएका झार स्थानीयबासीलाई आ–आफ्नो घरअघि उखेल्न लगाइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा यस क्षेत्रमा प्रत्येक हप्ता शनिबार सफाइ हुने गरेको छ ।  यसैगरी विष्णुमती सफाइको २४७औँ हप्तामा आज तारकेश्वर नगरपालिका वडा नं. ९ र १० क्षेत्रमा सफाइ गरियो ।

सफाइमा नवीननगर योग साधना केन्द्रको पनि सहभागिता थियो । पातञ्जल योग समिति नेपाल, काठमाडौं, नेपालटार चारघरे योग साधना केन्द्र, बासुकी नाग योग साधना केन्द्र, नेपाली सेना, तारकेश्वर सरसफाइ प्रालि, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष अमृत थापाको समेत सफाइमा सक्रियता रहेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए ।

आजको विष्णुमती सफाइबाट करिब चार टन फोहोर व्यवस्थापन गरिएको उनले बताए । विष्णुमतीको माथिल्लो भागमा नदी केही सफाइ देखिए पनि शोभाभगवतीभन्दा तलको नदीको किनारमा हिँड्नै नसकिने गरी दुर्गन्धित रहेको स्थानीयवासीको गुनासो छ ।

बागमती–तिलगंगा खण्ड सफाइको २२१औँ हप्तामा त्यस क्षेत्रको नदी किनारका साथै पिंगलास्थान मन्दिर क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिए । सफाइमा काठमाडौँ महानगरपालिका–९ का जनप्रतिनिधिको पनि सक्रियता थियो ।

चक्रपथ सफाइको ११७औँ हप्तामा बसुन्धरा चोकबाट पश्चिमतर्फको सडक क्षेत्रमा सफाइ गरियो । करिब ४०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट सात टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले बताए ।

यसैगरी, आलोकनगर सफाइको ११७ औँ हप्तामा त्यस क्षेत्रमा घरदैलो जनचेतामूलक अभियानसहित सफाइ गरियो । यहाँको साप्ताहिक सफाइका क्रममा यस क्षेत्रमा उम्रिएका गाँजाको बिरुवा पनि नष्ट गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए ।

चक्रपथ वाफल खण्ड सफाइको ९८ औँ हप्तामा स्यूचाटारबाट सीतापाइलासम्म सफाइ गरियो । डम्पिङ साइड बन्द रहेकाले महानगरपालिका र नेप्से म्याकको गाडी फोहोर लिन नआएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए । सफाइमा ९० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

असार २८ गते शनिबार सफाइको १००औँ हप्ताको कार्यक्रम विशेष रुपमा मनाउने तयारी गरिएको जानकारी उनले दिए । यसैगरी, आज राजधानीका सुन्दरीघाट, मनोहरा लगायत स्थानमा पनि सफाइ अभियान जारी रहेको जनाइएको छ ।

२०७० जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएपछि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानसमेत प्रारम्भ भएको हो । बागमती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ स्थानभन्दा बढी ठाउँमा सफाइ अभियान चलिरहेको छ । (पूर्णप्रसाद मिश्र/रासस)

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु