गृहपृष्ठ विवाहमा साढे ३ अर्ब खर्च, फोहोर नै ३ सय क्विन्टल
विवाहमा साढे ३ अर्ब खर्च, फोहोर नै ३ सय क्विन्टल
भारतको उत्तराखण्डको अउली नगरमा दक्षिण अफ्रिकाका एक व्यापारी आफ्ना दुई छोराको बिहे गर्दा दुई अर्ब भारतीय रूपैयाँ अर्थात् ३ अर्ब ६० करोड नेपाली रूपैयाँबराबर खर्च गरेका छन् । विवाह स्थलमा करिब तीन सय क्विन्टल फोहोर संकलन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जोशीमठ नगर निगमका सफाइ कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका बल्ल सफा गरिएको बताए । गुप्ता परिवारको विवाह समारोह जुन १८ देखि २२ तारिखसम्म चलेको थियो ।
गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए । निगमले नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको थियो । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेवलगायत पनि पुगेका थिए । विवाहमा सहभागी हुने अतिथिका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।
प्रकाशित समय १८:०२ बजे

















