गृहपृष्ठ कुकुरका लागि अमेरिकामा छुर्पी निर्यात !
कुकुरका लागि अमेरिकामा छुर्पी निर्यात !
इलाममा उत्पादित छुर्पी कुकुरलाई खुवाउने प्रयेजनमा अमेरिका निर्यात हुन्छ । विदेशमा कुकुर हेर्न मान्छे राख्ने चलन छैन । छुर्पी चपाउँदा कुकुर घण्टौं भुल्छ । यसबाट घर फोहर हुँदैन । यस्तो छुर्पी महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको अमेरिका निर्यात हुने गरेको बताइन्छ ।
कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।
मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका–३ का हरि पोख्रेल बताउँछन् । उनका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ ।
नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोसिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । भनिन्छ, मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन ।
सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्छन् । हाल उनी आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन् । उनी प्रतिकिलो छुर्पी ९५० र घिउ प्रतिकिलो ६५० रूपैयाँमा बेच्छन् ।
देउराली, माईजोगमाई, मंगलबारे, सन्दकपुरमा कुकुरलाई ख्वाइने छुर्पी उत्पादन हुने गरेको छ । यहाँबाट उत्तिकै मात्रामा मानिसका लागि घिउसमेत उत्पादन भइरहेको किसानहरुले बताएका छन् ।
पहिला मानिसले खाने छुर्पी लेकाली भेगमा परम्परागत रुपमा मात्रै उत्पादन गरिन्थ्यो । यसले राम्रो बजार पाउन थालेसँगै यहाँ अहिले व्यावसायिक रुपमै उत्पादन गर्न थालिएको देउमाई नगरपालिकाका विष्णु चौलागाईं बताउँछन् ।
छुर्पीले जापानमा राम्रो बजार लिएको थियो तर पछिल्लो समय गुणस्तरहीन छुर्पी पठाउँदा बजार नै बन्द भएको बताइन्छ । नेपाली छुर्पी खुवाएपछि कुकुरको भुत्ला झर्ने र खुइलिन हुन थालेपछि छुर्पीको माग घटेको यसमा संलग्न व्यवसायीहरु बताउँछन् ।
मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत नै हो । कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एसियाका धनी देशहरु हुन् ।
धुवाँको बास्ना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी सुकाउन धुवाँको प्रयोग गरिन्छ । (टीका खतिवडा/रासस)
प्रकाशित समय १४:२८ बजे

















