गृहपृष्ठ वृद्धावस्थामा ओढारको बास

वृद्धावस्थामा ओढारको बास

odharko-baas-newskarobar

ओढारको तलपट्टि बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठलाग्दो अवस्थामा भेटिन्छन्, ६५ वर्षीय हिराबहादुर पुर्जा ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका पुर्जा एक महिनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका (सुकुम्वासी) पुर्जा यसअघि आफ्ना दाजु लोदेसँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेको रघुगंगा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रोसमेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारीसमेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले बताए । ‘गाउँमा न उनीहरुका कोही आफन्त छन् न त सम्पत्ति,’ उनले भने, ‘हामीले आफन्तको बारेमा पत्ता लगाउन धेरै कोसिस ग-यौँ तर सकिएन ।’

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदुरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाई एउटै कोठामा व्बस्थे । तर, उनीहरुको बीचमा झगडा भएपछि भाई हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टि रहेको ओढारमा बस्न थालेका र यो कुरा आफूले केही दिन अघि मात्र थाहा पाएको गौचनले जानकारी दिए ।

गाउँपालिकामा यी दुई भाईको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए । उनीहरुलाई अहिले तत्कालै एक लाख रुपैयाँ खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाइ हिराबहादुर पुर्जाको नागरिकताको आधारमा दाजु लोदे पुर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाध्यक्ष फगामीले जनाए । (रासस)

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु